विरहले छाति चिर्दा हास्न लायौ हाँसीदिए
अलि अलि सास रोकि बाँच्न लायौ बाँचीदिए
भुल बिगत साथ दिन्छु चिरकाल सम्म भनि
छाति भित्र आफ्नो तस्बिर टाँस्न लायौ टाँसिदिए
खुशी हाँसो जीवनको लक्ष्य अनेक तोकिकन
चाहानाका केहि स्वरुप मास्न लायौ माँसिदिए
सुगन्धले छरिदियो अनेक नशा पिरतिको
मुटु जोडि मिठो प्यार गाँस्न लायौ गाँसिदिए
अनुभूतिमा लहरिने चाल भयो कति धेरै
आनन्दको चरम स्वाद जाँच्न लायौ जाँचिदिए