18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

देश सम्झेर रोएको बेला

कविता निरा शर्मा December 23, 2010, 8:18 pm

आजकल त यहाँ

जसले जे गरे पनि हुने भएको छ

मात्र निमुखाहारुले चुपचाप खप्नु परेको छ

निरिह बनेर टुलु टुलु हेर्नुको विकल्प छैन

देखेर पनि देखिन

सुनेर पनि सुनिन भन्नुको पीडा

मन कुड्याउदै खप्नुपरेको छ

आज मेरो देश ले

मियो हराएको यो क्षण

नारिएका छन गोरुहरु

तँछाड मछाड गर्दै

छराल्लिदै बराल्लिदै

खलो उधिनिरहेछन

सिंगहरु जोतेर सिंगौरी खेलिरहेछन

तर मसँग

हेर्नुको अर्को उपाय छैन

सहनुको पराकास्टा भोगिरहेछु आजकल म

चुपचाप चुपचाप

लाचार रहन बाध्य छु

आफ्नै संन्तानबाट हेपिएकी

ममताकी खानी जननी जन्म भुमी

रक्षकहरु नै भक्षक हुदा

बलात्कृत एउटा बिवस जवानी झैँ

बेनाम बाबुको बतासे लावारिस शिशु झैँ

अपहेलित भएर बाच्न बाध्य बुड्यौली झैँ

निमुखो बनेर

जिब्रो काट्नुको पीडा

जसरि पनि सहनै परेको छ

म सहिरहेछु

काटिएर फालिएको नङको जस्तो

डडेलोले सखाप परेको वनको जस्तो

फुलो परेको आँखाको नानीको जस्तो

आँखाबाट झरेको आँशुको थोपा जस्तो

निरर्थक बन्दैछ

मेरो देशको अस्तित्व

भिरको बुर्बुरे बलौटे माटो जस्तै

नदीले काटेको खेतको पाटो जस्तै

बिस्तारै बिस्तारै

रित्तिदैछा मेरो देश

स्वार्थको दलदलमा

हरेक पल, हरेक क्षण

भासिदैछ मेरो देश

म हेरिरहेछु

खपिरहेछु, सहिरहेछु

जे गरे पनि खप्नै परेको छ,

सहनै परेको छ

देश दुखेर के भो

चित्त नबुझेर के भो

कलेटि परेका ओठहरुले रंग उडेको फिक्का हासो फाल्दै

मियो बिनाको दाईमा

दाइ-बरादो गर्नु परेको छ ।

अमेरिका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।