18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

आरोप

कविता मनोज बोगटी December 13, 2010, 8:38 pm

तिमीले समातेर मात्र मेरो हात बलियो भएको होइन

किन भने हात समातिन्न।

हात समातेर राख्न सकिन्न

फुस्किन्छ

समात्नु र फुस्कनुको घर्षणले जन्मिन्छ

आरोप।

आरोप पनि आफ्नै सृजना हुन्छ

जसलाई कसैले स्वीकार्दैन।

एकदिन तिमी भन्दा पनि बलियो हुन्छ आरोप

र तिमीलाई जित्छ।

जसलाई कसैले स्वीकार्दैन।

जब आरोपहरूको जनसंख्या बढ्छ

उसले आफ्नो संस्कृति माग्छ

सुरक्षा माग्छ

चिन्हारी माग्छ।

आरोपको सुरक्षामा कानून बनिन्छ

लेखिन्छ संविधानमा आरोपको अधिकार।

आरोपलाई पनि बॉंच्ने अधिकार छ।

आरोप अन्तिम उपाय हो

आफूलाई चिनाउने।

जब आरोप ठूलो र तिमी सानो बन्छौ

तब औपनिवेशिक प्रपञ्चले धार पाउँछ।

को सुन्तुष्ट छ आरोपसित?

तिम्रो आरोप

यसरी बॉंच्छ।

आरोप रङ हो

मैले तिमीलाई दलें

तिमीले मलाई दल्यौ।

वा हुन सक्छ यसको विपरित।

आरोप अक्षर हो

तिमीले मलाई लेख्यौ

मैले तिमीलाई लेखें।

वा हुनसक्छ यसको विपरित।

आरोप छैन भने

गति छैन।

यसकारण तिम्रो आरोपसित मलाई गुनासो हुँदैन।

तिमीले पठाएको आरोपलाई

मैले पिरामा बसाएँ, बुझाएँ, खुशी पारें

अनि तिमीलाई नै फर्काएँ।

सुन्यौ, आरोप दास हुनसक्छ

अन्तमा नाश हुनसक्छ।

जुनदिन आरोपको चेतना यसरी ठोक्किएररै पलाउँछ

त्यही दिनदेखि

जीवनको परिभाषा हराउँछ।

एति सुनिराख

आरोपको आफन्त हुँदैन।

अनि म तिम्रो आफन्त हुँ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।