18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत बज्र कुमार राई November 10, 2010, 8:00 pm

जति बग्छन् आफ्नो आँशु आफैंले पिउँला

तिमीले पाए जीवन-साथी म एक्लै जिउँला

सँगै जिउँने रंगीन सपना कति देखें कति

हुन्छ नै रे!लेखान्तमा बिधाताले लेखे जति

यही पीरले फाटेको मन कतैकतै सिउँला

तिमीले पाए जीवन-साथी म एक्लै जिउँला

हिड्दाहिड्दै जिन्दगीमा बिछोडिने मोड आयो

उज्यालो त्यो दिन भोगाइमा अँध्यारोले छायो

यहीबेला माग तिमी बाँकी यो ज्यान दिउँला

तिमीले पाए जीवन-साथी म एक्लै जिउँला

सधैं निर्मल साथ मिलोस् चोटहरु भूलाउनलाई

के चाहीयो र! साथ पाए जिन्दगानी फूलाउनलाई

यसो भन्दै बग्ने आँशु अब आफैं पिउँला

तिमीले पाए जीवन-साथी म एक्लै जिउँला

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।