18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

छोरी–देश

कविता श्रीशीशा राई October 27, 2010, 7:15 pm

आँखाको डिलतिर उक्लिँदै गएको निन्द्रा

विपनातिर ओर्लिँदै गरेको सपना

दुवै सामुन्ने आईपुगेपछि थाहा भयो–

मध्यरात रहेछ

कतै सुनियो च्याँ.... आवाज–

छोरी रहीछ

‘बुबु...बुबु...’ भन्दै आमाको आङ तानिरहेको त्यो दृश्य

आफ्नै हस्तरेखा र निधारका धर्काहरुले कोरिएको

देशको मानचित्र जस्तै लाग्छ

छोटा छोटा निन्द्रा पिच्छे

छटपटी र भोकको कर्कस चिच्याहट

– ज¥याकजुरुक उठेर हेर्छु

छोरी– म र मेरी श्रीमतिको वीचमा

दुई ढुंगा बीचको तरुल सुतेकी छ –

चिसो लागेको छ नाक बन्द छ

शायद हाम्रो अस्वस्थताको तापले

चाकमा घाउ छ, खाना खाँदैन

सारा निन्द्राहरुलाई झुलवाट हटाएर

ब्युँझिएर पनि छोरी ओछ्यानमै छे

एकोहोरिएकी छे

उठेर

बेडको एकछेउ उभिएकी छोरी

भर्खर बाथरुम छिरेको आमा खोज्दै रुन्छे

ठुलो टाउको र जिङ्ग्रिङ्ग केश मुन्तिर

गलामा

आयातित पण्डितको मन्त्र र अनिश्चित भविष्यको

निश्चितता पोको पारेको बुटि झुण्ड्याएकी छे

कहिलकाँही

छोटा मसिना हातखुट्टा र

चाउरिँदो नाबालक अनुहारमा

विहानको किरण पर्दा पनि

आकारको सिमाना झन झन

अस्पष्ट, अस्थिर र कुपोषित बन्दैछ

अन्तद्र्धन्द्ध र द्धेषहरुका बीच

यसरी नै देश

यतै मसीना खुशीहरु भएपनि

अन्तै केही खोजीरहेछ

बाउ भएर पनि

केही गर्न सकेको छैन रे मैले छोरीका लागि

‘आमा भएर चैँ खै के गर्न सक्यौ त छोरीका लागि ?’

अहँ..............

यस्ता तनाव, ग्लानी र आवेशहरुको रुख्याईमा एकछिन पनि बाँचेर कर्तव्य–सारङ्गी रेट्नुछैन

हामी छोरीलाई अब

छिमेकी–अनाथालयको जिम्मा लगाउँदैछौँ

धरान

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।