छानीछानी मोटा बाँस, ढाल्या छन् रे गाउँमा !
चौतारीमा लिङ्गे पिङ, हाल्या छन् रे गाउँमा !!
भीड छ रे देवीस्थानमा, सप्तसती पाठ गर्न !
दशैंघरमा साँझ बत्ती, बाल्या छन् रे गाउँमा !!
रंग्याउन होड हुन्थ्यो, कसको घर राम्रो भन्दै !
उक्किएका घरको भित्ता, टाल्या छन् रे गाउँमा !!
उस्तै भीड पधेँरामा, मैला लुगा सबै धुन !
फोहोरहरु सबका घरका, फाल्या छन् रे गाउँमा !!
ठेगान हुन्न पाहुनाको, गर्नै पर्छ बन्दोबस्त !
चिउरा कुटी घरैपिच्छे, चाल्या छन् रे गाउँमा !!
जम्मा होलान् छोराछोरी, सबका घरमा आशा !
घरैपिच्छे घोर्ले खसी, पाल्या छन् रे गाउँमा !!
कति खाने मासुमात्रै, पचाउन गाह्रो हुन्छ !
अचारलाई कांग्रो काटी, गाल्या छन् रे गाउँमा !