निधारमा रातो टीका, लगाउन आउँछु आमा !
वर्षदिनको दुःख कष्ट, भगाउन आउँछु आमा !!
हजुरबुबा देउता समान, नाघिसके सय वर्ष !
शीर झुकाई आर्शीवाद, मगाउन आउँछु आमा !!
कति गाह्रो बा-आमालाई, छोराछोरी लाखापाखा !
बसुन्जेल घरमा सक्दो, सघाउन आउँछु आमा !!
दाजुभाइ जम्मा हुन्छौं, नगर्नु भो पीर धेरै !
मनभित्र जोश जाँगर, जगाउन आउँछु आमा !!
सहरको बसाइ कठीन, खान-लाउनै गाह्रो हुने !
मासुभातले भोको पेट, अघाउन आउँछु आमा !!
यसैगरी भेट हाम्रो, हुन्न शायद अर्को दशैं !
थोरैथोरै आँसु पनि, बगाउन आउँछु आमा !!