18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल प्रदीप चापागाईं October 5, 2010, 7:44 pm

आयो दशैं भन्छन् सबै,चाँजोपाँजो गर आमा,

यता सार्‍है अप्ठेरो छ,आउँदिन म घर आमा !!

परदेशी छोरो म त,पात्रो हेर्दै टोलाउँछु,

टिका पनि नजिकियो,जौ जमरा छर आमा !!

टाढिएको सन्तान सम्झी,रुँदो होला मन पनि,

साईतैमा मेरो फोटो,राखे अलि पर आमा !!

करेसामा फूले होला,मगमग सयपत्री ,

म छु यता थोरैमात्र,टिपे हुन्छ तर आमा !!

मौका मिले अर्कोचोटी,खुसी बोकी आउँला म,

मलाई सबै ठिकै नै छ,नमाने है डर आमा !!

सिड्नी

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।