18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल नीलबहादुर खड्का September 25, 2010, 7:25 pm

गरीवीले दुःख पा'को, नलजाई गजल लेखेँ !

गुन्द्रुकसँग ढिँडो खा'को, नलजाई गजल लेखेँ !!

राम्रो लाउन गरीवलाई, आउनै पर्ने दशैं !

टालीटाली लुगा ला'को, नलजाई गजल लेखेँ !!

आधापेटमै रमाउने, मुस्किल कस्तो छाक टार्न !

छिमेकीको पर्म गा'को, नलजाई गजल लेखेँ !!

वर्षामास रातैभरि, ओत लाग्न कति गाह्रो !

घरको छाना खरले छा'को, नलजाई गजल लेखेँ !!

कहाँ पाउनु धानखेत, पाखोबारी नाम मात्रको !

जोत्नलाई गोरु दा'को नलजाई गजल लेखेँ !!

कहिले घाँस कहिले दाउरा, मेलापात कतिकति !

भोकभोकै जंगल धा'को, नलजाई गजल लेखेँ !!

ठूलो मान्छे बनाउने, रहर कत्रो बाआमाको !

कमाउन सहर आ'को, नलजाई गजल लेखेँ !!

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।