हजारौँ सुन्दरीहरूको बगैँचामा शिवजीले उपद्रो गर्ने हुन् कि ? भनेर पार्वतीलाई चिन्ता लाग्यो । मेलामा शिवजीलाई नदेखेपछि पार्वती बागमती नदीतिर लागिन् । दिउँसोदेखि बिहान उज्यालो हुने बेलासम्म मासु र चौरासी व्यञ्जनको दर खाएर स्वादिष्ट आहारलाई पचाउन नाचिरहेका व्रतालु महिलाहरूको स्वाङ देखेर पार्वतीलाई रिस उठ्यो ।
हिँड्दै जाँदा पार्वतीले बागमती नदीको किनारमा बेहोस भएर लडेकी महिलालाई देखिन् । दिव्यदृष्टिले हेर्दा उक्त महिला विगत पाँच दिनदेखि निराहार ब्रत बसेको पार्वतीले पत्ता लगाइन् । ‘सच्चा सौभाग्यवती त यी पो रहिछन्’ पार्वती प्रसन्न भइन् र कमण्डलुको पानी छर्केर महिलालाई होशमा ल्याइन् ।
‘दिदी ! घरमा अन्नको गेडो छैन । खान नपाएको आज पाँच दिन भइसक्यो । श्रीमान् पनि आजै भोकले मरे, केही खानेकुरा छ भने दया गर्नुहोस्, तपाईंले महादेवजस्तो वर पाउनुहुनेछ ।’