18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सहर र प्रतिबन्धित प्रेम

कविता रीता खत्री July 28, 2010, 3:03 am

यो मृत सहरमा

प्रतिबन्धित छन् प्रेम कविता ।

प्रिय कवि !

मैले जूनलाई लेखे पनि

तिमीलाई लेखेको हुन्छ ।

घामलाई लेखे पनि

तिमीलाई लेखेको हुन्छ ।

तिमी मेरो कविताको प्रतीक

तिमी मेरो जीवनविम्ब

आश्चर्य !

मैले पूmललाई लेखे पनि

तिमीलाई नै लेखेको हुन्छ ।

आकाशजस्तै

मेरा आँखाभरिभरि व्याप्त छौ तिमी

समुद्रजस्तै

मनभरिभरि प्रवाहशील छौ

शब्दमा अक्षरमा अनुभूत गरिरहेकी छु

तिम्रो प्रेमिल स्पर्श

शीतल बतास भएर तिमी मेरो

अङ्गअङ्गमा समाहित छौ ।

प्रभावित छु म तिम्रा भावस“ग

अनुभूतिसँग

विचार र समवेदनासँग

तिम्रा आँखाका आँसु र

ओठमा मुस्कानसँग

जसले जेसुकै भनून्

अहिले म

प्रत्येक श्वास प्रश्वासमा

अनुभूत गरिरहेकी छु

तिम्रो मायाको अनुपम सुवास

प्रत्येक एकाग्रतामा÷निर्जनतामा

तिम्रा वात्सल्यका कोमल छालले

तरङ्गित पारिरहेको छ मेरो मन ।

प्रेमका अर्थ–

ढुङ्गाहरूलाई के थाहा ?

सौन्दर्यको अर्थ–

धृतराष्ट्रहरूलाई के थाहा ?

म तिम्रो –

जीवनसँग नै प्रभावित भएका बेला

भन्नेहरू ठीकै भन्छन्

मैले जूनलाई लेखे पनि

तिमीलाई लेखेको हुन्छ

पूmललाई लेखे पनि

तिमीलाई लेखेको हुन्छ ।

सत्य हो

सौन्दर्य मेरो दुर्बलता हो

म जूनलाई मन पराउँछु

पूmललाई मन पराउँछु

प्रकृति मन पराउनु

तिम्रो शब्दकोशमा अपराध हो भने

हो, म स्वीकार्छु

म अपराधलाई मन पराउँछु ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।