एक्काइसौं शताब्दीको प्रथम प्रहर !
देशमा सङ्कट थियो । तार, ढुङ्गा, मुढा, टायर राखेर राजमार्गलार्र्ई ठाउँठाउँमा अवरुद्ध तुल्याइएको थियो । आउजाउ गर्न सारै असुविधा थियो । ठाउँठाउँमा हुने सुरक्षा–जाँचबाट यात्रुहरू आहत भएका थिए ।
भरखर एक ठाउँको सुरक्षा–जाँच सकेर बसहरू लामबद्ध भई राजमार्गमा गुडिरहेका थिए । अकस्मात् लामको अगाडि रहेको बस घचक्क रोकियो । क्रमशः त्यसपछिका बस, ट्रक, भ्यान, जिप र कारहरू पनि सडकमा रोकिए । राजमार्गमा लामो लाम लाग्यो । मानिसहरूमा जिज्ञासा र कौतूहल जाग्यो ।—
– फेरि चेकिङ !
– अरे ! फेरि चेकिङ ?
– कति चेकिङ ! ?
– भरखर भएको हो चेकिङ ! फेरि केको चेकिङ ?
– सरप्राइज चेकिङ होला !
– चेकिङ छ भनेर जानीजानी पनि कसैले ल्याउँछ ?.... बेबकुफ !
यात्रुहरूमा छटपटी सुरु भयो । गजब त के थियो भने उताबाट पनि कुनै वाहन आइरहेको थिएन । मानिसहरूमा थरिथरिका आशङ्का देखापरे ।–
– उताबाट कुनै गाडी किन आएन ?
– उता कतै पक्का मुठभेड छ होला !
– देश त पूरै ध्वस्त भयो !
– अँ यार, खतम ! नेताहरू सब खतम !
– केटाहरू पनि खतम !
टाइम–पास–गफ भइरहेका थिए । धेरै बेरपछि विपरीत दिशातिरबाट गाडीहरू आए । अगाडिको गाडी हिंड्यो । हाम्रो गाडी पनि हिंड्यो । अरू गाडी पनि गुडे ।
पछि पो थाहा लाग्यो, चेकिङ होइन रहेछ, बिरालाले बाटो काटेको रहेछ ।
आखिर चेकिङ त चेकिङ नै रहेछ ! हाम्रो विश्वासको चेकिङ !