18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

ईश्वरका कथाहरु- चार

लघुकथा डा. रविन्द्र समिर June 29, 2010, 8:30 pm

‘महादेवको बीर्य पतन भएर पारो निर्माण भयो ।’

‘दक्ष प्रजापतिको क्रोधको कारण ज्वरो उत्पन्न भयो ।’

‘इन्द्रले अत्याधिक मैथुन गरेकोले धातुक्षीण भएर राजपक्ष्मा (क्षयरोग) उत्पन्न भयो, त्यसकारण चन्द्रमामा दाग देखिएको हो ।’

’देवताको श्रापले कुष्ठरोग उत्पन्न भएको हो ।’

‘............................................................’

स्वर्गमा चिकित्सा विज्ञान पढिरहेका डा. शर्मालाई सिङ न पुच्छरका यस्ता तर्कले रिँगटा लाग्यो ।

‘यो असम्भव छ । खनिज धातुबाट पारो निर्माण भयो । जीवाणुको सङ्क्रमणले ज्वरो उत्पन्न भयो । Mycobacterium Tuburcle किटाणुले क्षयरोग उत्पन्न भयो । Mycobacterium Leprae ले कुष्ठरोग हुन्छ..... ।’

चिकित्सा विज्ञानका धुरन्धर विद्वान् डा. शर्मा अत्याधिक मदिरा–सेवनको कारण कलेजो बिग्रेर स्वर्गवासी भएका थिए ।

डा. शर्माको तर्कले स्वर्गमा भूकम्प आयो । सबै देवताहरू क्रूद्ध भएर डा. शर्मालाई नास्तिक, छाडा, बहुलठ्ठी भन्दै नर्कमा पठाउँदा पनि अनिष्टको सम्भावना देखेकोले पृथ्वीमै फर्काइदिए ।

त्यसपछि डा. शर्मा लुरूलुरू नर्सिङहोमतिर लागे । डा. शर्मालाई देखेर नर्सिङ होममा हल्लाखल्ला मच्चियो – ‘भूत ! भूत !! भूत !!!’

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।