एकपटक बाँदर, गधा र मान्छेले शिवको तपस्या गरे। शिव तीनैसित प्रसन्न भए।
शिवले भने– बाँदर, ल वर माग!
बाँदरले भन्यो– म यस देशको राजा बनूँ, प्रभु!
तथावस्तु!– शिवले भने।
शिवले गधासित भने– ल अब तँ वर माग।
गधाले भन्यो– म मन्त्री बनूँ प्रभु!
प्रभु दयालु थिए क्यार! तथास्तु भने।
अब मान्छेको पालो आयो।
मान्छेले भन्यो– मलाई यस देशबाट निकाला गरिपाऊँ, प्रभु!
शिवले सोधे– यस्तो वर किन मागिस् मनुवा?
मान्छेले फेरि भन्यो– जुन देशको राज्यसत्ता बाँदर र गधाका हातमा हुन्छ, त्यस्तो देशमा बस्नुभन्दा प्रवासित हुनु नै श्रेयस्कर छ प्रभु! होइन र? अतः मलाई यस देशबाट निकाला गरिपाऊँ, प्रभु!