पाँचदशक भन्दा लामो इतिहास बोकेको लघुकथा विधा पचासको दशक यता व्यापकरुपमा पल्लवित पुष्पित भइरहेको छ । आजको ब्यस्त समयसँग प्रविधिको साम्राज्य यान्त्रिक जिवन शैली तथा प्रचुर मनोरंजानत्मक साधनहरुको विगविगिले गर्दा आमपाठक थोरै शब्दबाट धेरै सन्देश दिने क्षमता भएको लघुकथा विधा तर्फ आकर्षित भइरहेका छन् । साहित्यका चार विधाहरु आख्यान, काव्य, निबन्ध र नाटकमध्ये लघुकथा आख्यान साहित्यको स्वतन्त्र उपविधाको रुपमा स्थापित भइसकेको छ ।
लघुकथालाई प्रमुख विधा बनाएर साधनामा लागिपरेका राम्रा लघुकथाकार मध्ये कृष्ण बजगाईं सशक्त एवं आशान्वित हस्ताक्षर हुन । बिगत एघार वर्षदेखि डायोस्पोरा जीवन बाँचिरहेका कृष्ण बजगाईंले नेपाली समाजमा अन्तर्निहित राजनैतिक, प्रशासनिक, सामाजिक, सांस्कृतिक, धार्मिक, वैयक्तिक, मनोवैज्ञानिक, यौनिक लगायत विविध क्षेत्रमा स्थापित बिकृति, विसंगति र विद्रुपतलाई आफ्नो दोस्रो लघुकथासंग्रह रोडम्याप मार्फत उजागर एवंम मार्मिक प्रहार गरेका छन् ।
रोडम्यापका वैसट्ठी लघुकथाहरु युगचेतना र समय चेतनाका थुँगाहरु हुन । जसलाई कथाकारले टिपेर, उनेर तथा बुनेर लघुकथाको माला बनाएका छन् । उनका अधिकांश लघुकथाहरुमा तीव्र संवेदना र गहिरो अनुभूति सूक्ष्मरुपमा चित्रण गरिएको छ । लामो समयदेखि प्रवाश बसाईंमा रहेर पनि उनका लघुकथाहरुले नेपाली जीवन र विषयका घतलाग्दा प्रसंगहरु घनिभूतरुपमा ,चित्रण गरेका छन् ।
रोडम्यापका प्रायः लघुकथाहरु छोटो संरचना, तीव्र वहाव, रोचक घोचक शैली, बिम्बात्मक सुत्रात्मक, ब्यंग्यचेतप्रधान एवं सन्देशमूलक अन्त्योत्कर्ष प्रधान छन् । जुन पछिल्लो समयमा प्रकट भएका धार्मिक, जाती, भाषिक तथा विविध विशृंखलताहरुलाई पनि कथाकारले उजागर गरेकाछन् । रोडम्यापमा प्रकाशित ६२ लघुकथाहरु मध्ये रोडम्याप, झगडाका गुँड, गोजी नभएको सुट, विज्ञापन, तेस्रो लिंगी, आश्वासन, भोक, हड्ताल, मानवियता, भित्री जाडो, परिवर्तन, आदेश, लोग्नेको जात, अर्ति, चिन्ता, दुःख, भोग र लोकतन्त्र लघुकथाहरु विषय, प्रस्तुति, मिथक, एवं सम्प्रेषणका हिसाबले अब्बल दर्जाका लघुकथाहरु हुन् ।
रोडम्यापमा संङ्गृहित केही लघुकथाहरुमा जस्तै नेताका कुरा, मन्त्रीको खराव सपना आदिका शीर्षक स्वयंले उत्तर बोलेका छन् । त्यस्तै केही लघुकथाहरु अन्त्योत्कर्षपछि थपिएका वाक्यले विष्फोटक हुन सकेका छैनन् ।
शब्दहरुमा बिम्ब खेलाउन सिपालु कथाकारले अधिकांश लघुकथाहरुमा सूत्रात्मकताको साटो कथात्मक शैली अवलम्वन गरेको भए सुनमा सुगन्ध थपिने थियो । लघुकथाले छरिएको भन्दा सघन वाक्य संरचनाको अपेक्षा गरेको हुन्छ ।
डा. लक्ष्मण प्रसाद गौतमको समीक्षात्मक भूमिका तथा डा. गोविन्दराज भट्टराई र होमनाथ सुवेदीको मन्तब्यले कृतिको ओज बढेको छ । लघुकथा विधामा कृष्ण बजगाईंको सक्रिय, सशक्त एवं प्रयोगवादी उपस्थितिलाई रोडम्याप लघुकथासंग्रहले पूर्णपुष्टि गरेको छ ।
कृतिः रोडम्याप(लघुकथासंग्रह)
लेखकः कृष्ण बजगाईं
प्रकाशकः अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, अमेरिका
प्रकाशनः माघ २०६६
पृष्ठः १२३+
मूल्यः रु. ७५