सम्याउँदै खेतका गरा, छेउकुना कोप्दैरैछन् !
दुःखगरी जसोतसो, गाउँमा धान रोप्दैरैछन् !!
छैन ठेगान मौसमको, आकाशको भर पर्नुपर्ने !
पानी पार्न महादेवको, नाम निकै जप्दैरैछन् !!
गाउँका धेरै विदेशमा, अभाव रै'छ खेतालाको !
हिलो खेत जोत्नलाई, जुवामा प्वाल खोप्दैरैछन् !!
पर्म पनि जानैपर्छ, सजिलो हो आफैंलाई !
ठग्न खोज्छ मालेगोरु, पुच्छरमा घोप्दैरैछन् !!
महत्व छ खेतालाको, बूढापाका सबै व्यस्त !
घूम ओढी घामपानी, आफ्नो जिउ छोप्दैरैछन् !!