18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल नीलबहादुर खड्का May 19, 2010, 12:13 am

पर्दैन भो देख्दा मलाई, घरको दैलो थुन्न अब !

हाटबजार, चोक, गल्ली, कतै पनि हुन्न अब !!

सोचेजस्तै सप्तरंगी, हुन्न जीवन थाहा पाएँ !

सस्तो छैन आँसु मेरा, सम्झिएर रुन्न अब !!

सुख-दुःख आँसु-हासो, त्यसैले त जिन्दगी छ !

जति पीर परोस् अझै, आँसुले मन धुन्न अब !!

ढुक्क भई हिँड तिमी, छेक्नेछैन बाटो कहिल्यै !

सत्य-सत्य धरोधर्म, तिमीलाई छुन्न अब !!

होलान् दुःख तिम्रा पनि, मुटुभित्र चोट अनेक !

छाडिदेऊ षडयन्त्रका, अनेक ताना बुन्न अब !!

साँचो प्रेमको बदलामा, उपहास सहुँ कति !

तय गर मार्ग आफैं, दिएँ मौका चुन्न अब !!

औंसीमात्र कहाँ होला, पूर्णिमा नि आउँछ पक्कै !

विरहका मेरा भाका, पर्दैन भो सुन्न अब !!

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।