18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल दलवीरसिंह बराइली "घायल" May 8, 2010, 8:17 pm

कोपिलामा रङ्गलाली भर्नुभर्यो मध्यरातमा

प्रकृतिले फूललाई गर्नुगर्यो मध्यरातमा

फूल फक्री उमंगको फैलाइद्यो मिठो तरंग

सिरेटोले सुवास त्यो छर्नुछर्यो मध्यरातमा

बादलुको घुम्टो हट्यो फूलभरी चम्क्यो चाँदनी

पातमाथि शित थोपा झर्नुझर्यो मध्यरातमा

जुनाकिरी झिलिमिली मनाउँदै थियो उत्सव

काँडालाई ठुलो पिर पर्नुपर्यो मध्यरातमा

सुवासिलो फूल चुम्न आँतुरथ्यो लोभि भमरा

आफैलाई भुलि त्यहाँ चर्नुचर्यो मध्यरातमा

घामपानि आँधिहुरि भोलि जे जे आए आओस

धरतिमा अर्को मुना सर्नुसर्यो मध्यरातमा

सुनौलो त्यो मिलनमा बन्न खोज्यो तारा आरिसे

डाहा गरी एक्लै आँखा तर्नुतर्यो मध्यरातमा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।