18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

बाँदर आतङ्क

कविता विवश पोखरेल May 5, 2010, 8:00 pm

आफ्नै घर भत्काएर

एक हुल बाँदरहरू

शहर पसेका छन्

खबरदार मान्छेहरू

घर बाहिर ननिस्कनु

फेरि कफ्र्यु लाग्नसक्छ

अनाहक बाँदर आतङ्कले

एउटा शान्त बस्ती

तहसनहस हुनसक्छ

पुनःअसङख्य छोराहरू–

अनायास हराउन सक्छ ।

थरी–थरीका छन् बाँदरहरू

बाँदरको रङ्ग बेग्लै छ

जात बेग्लै छ

छुल्याँइ बेग्लै छ/उत्पात बेग्लै छ

बाँदर युद्धमा सधैं मान्छेहरू

सास्ती भोगिरहेछन्/सन्त्रास भोगिरहेछन्

कहिले मान्छेका –

सपनामाथि घोडा चढेर

स्वार्थका पीङ मच्चाउँछन् बाँदरहरू

कहिले पशुपतिको घण्ट ठोक्दै

राष्ट्रसङ्कटको उद्घोष गर्छन् बाँदरहरू

कहिले खुरूर्र बुर्कुसी मार्दै

कुर्सीका खुट्टा समाउँन पुग्छन् बाँदरहरू

चलिरहेछ –

एकपोल्टा उज्यालोको भागबन्डामा

बाँदरहरूको लुछाचुँडी

घामका रेशा–रेशाबाट

सगर छुने प्रविधि सिकाउँदै –

खाटा बसेको घाउ कोट्याएर

पारिलो घाममा–

सन्तुष्टिका जुम्रा हेरिरहेछन् बाँदरहरू

आँखामा भ्रमका हरिया चश्मा लगाएर

प्रत्येक मनलाई दिग्भ्रमित पार्दै

शिशिरलाई वसन्त देखाइरहेछन् बाँदरहरू

कति हेर्नु –

बाँदरका नृत्य नौटङगी र चटक

चोकमा– डबलीमा निरन्तर

जात्रा देखाइरहेछन् बाँदरहरू ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।