जवानीमा मलाई ज्यूँदै मारेको छ रुपैंयाले
हासो खुसी बिना एक्लो पारेको छ रुपैंयाले।।
अभावको डढेलोले मनै ध्वस्त पारे पनि
भोलि भोलि भोलि भन्दै टारेको छ रुपैंयाले।।
आफू थिए बेला थियो उही जोश अघि बढ्दै
धेरै माथि पुग्थें होला झारेको छ रुपैंयाले।।
साथी भाइ काँडा भए नाता गोता टाढा भए
बाँकी माया पनि पर सारेको छ रुपैंयाले ।।
कति रात रोएँ कति सोचें कति कति गरेँ
तै नि जिन्दगीमा शिव हारेको छ रुपैंयाले ।।