बेहोसीमै अझै बढी पिऊँ जस्तो लाग्छ अचेल
संसारका खुशी आफैं लिऊँ जस्तो लाग्छ अचेल ।
कति गाँउनु निराशा र अभावका आलाप सधैं
जिन्दगीलाई नयाँ रंग दिऊँ जस्तो लाग्छ अचेल ।
सपनै हो जिन्दगी त खुम्चिएर देख्नु किन
वसन्त झैं फक्रिएर जिऊँ जस्तो लाग्छ अचेल ।
कहिलेकाँही दुख्छ मन, फाट्न सक्छ अनजानमै
प्रेममयी भावनाले सिऊँ जस्तो लाग्छ अचेल ।
सोचाइ रैछ सुख, दुख जिन्दगीका आयामहरु
चैत मासको धूप पनि हिउँ जस्तो लाग्छ अचेल ।