18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल नीलबहादुर खड्का April 22, 2010, 10:04 pm

रोज्या थियौ मार्ग कठोर, यात्रा रोकायौ कि !

एक्लै छ्यौ कि तिमी अझै, भारी बोकायौ कि !!

अवसरवादी तिमी कति, अवसर पाइनौ कि !

खोज्दैछ्यौ कि अझै पनि, मौका चुकायौ कि !!

छेउमै पर्न को सक्थ्यो र, कति कट्टर तिमी !

उस्तै छ कि गर्जन अझै, गौंडा ढुकायौ कि !!

देखाइनौ तिम्ले कहिल्यै, पीडा जति परोस् !

उस्तै दरो छ कि मन, चित्त दुःखायौ कि !!

मुस्कान सधैँ मुहारमा, मन जति जलोस् !

उस्तै छ्यौ कि अझै पनि, हाँसो लुकायौ कि !!

स्वभाव कति हठी तिम्रो, गल्ती गरे पनि !

बानी उस्तै छ कि अझै, शीर झुकायौ कि !!

दोषी ठान्थ्यौ समाजलाई, आफू तल पर्दा !

डराउँछ्यौ कि अहिले तिमी, बन्धन फुकायौ कि !!

सपना अनेक थिए तिम्रा, पूरा नभए नि !

देख्नै छाड्यौ कि कुन्नि, मनमै सुकायौ कि !!

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।