18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

नयाँ बिहानको कोलाज

कविता सुधीर छेत्री April 16, 2010, 2:03 am

पूर्वेली आकासको कुनाबाट

घामले रातो रूमाल हल्लाएर

एकदिवसीय म्यारेथेनको घोषणा गरयो।

फुच्चे दुबोहरु शितमा खुट्टा चोप्दै उफ्रिए।

हावाले घाँटी फुलाएर

सुसेली बजायो।

आँखाको ओडारमा ओत लागेका दृश्यहरू

ओभानो क्यान्भस झैं फैलिए।

कता कताबाट उडिआएको आँधीबेरीले

अस्मिताको धिपधिप धिब्रीमा ज्वालाहरू मर्कायो,

तर जायजेथा सम्हालेर उठे शिखाहरू फेरि।

ओस्सिएका नाराहरुमा

नयाँ खरीको ताल बज्नलाग्यो।

हार्मोनियमका हड्डीहरुबाट

नयाँ राग जन्मिए।

सिरानी र सिरकहरुमा

विपना र यथार्थका खोलहरु लगाइए,

औंलाहरु मुट्ठी कसिनलाई जुर्मुरिए,

हरितन्न्म हस्तरेखाहरुमा

टिस्टाको वेगजस्तो जाँगर सल्बलायो।

अनुहारमा भुकभके रङ्ग छायो।

नयाँ बैशाखको पञ्चवटीमा

मेरो स्वतन्त्रताको आश्रम दीव्य बलिउठ्यो।

अनि हेर्दाहेर्दै मेटिए

कविताको ढाडबाट

प्लेटोको कोर्राका दागहरू॥….…

कालीम्पोङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।