कामभन्दा भाषण बढी, छाँट्नेहरु मात्रै भए ।
सोझा-सिधा जनतालाई, ढाँट्नेहरु मात्रै भए ।
संविधानको चिन्ता छैन, सत्ताकै छ लुछाचुँडी ।
सकेजति आफ्नै लागि, आँटनेहरु मात्रै भए ।
थाक्ने छैनन् कहिल्यै पनि, सहमतिका राग जप्न ।
सहमतिकै नारा बोकी, फाट्नेहरु मात्रै भए ।
देशभन्दा आफ्नै स्वार्थ, ठूलो बन्यो यिनीहरुलाई ।
षडयन्त्रका अनेक डोरी, बाट्नेहरु मात्रै भए ।
खास धर्म के हो आफ्नो, भुलिसके सबै यिनले ।
अर्ति बुद्धि हुने कुरा, काट्नेहरु मात्रै भए ।
विश्वास छैन जनताको, इष्ट ठाने पराइलाई ।
विदेशीका तलुवा सधैं, चाट्नेहरु मात्रै भए ।