18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल उमा सुवेदी March 30, 2010, 7:45 pm

देशलाई हँसाएर, आफूपनि हाँस्नु राम्रो ।

पराइको हात छोडी,आफ्नै भरमा बाँच्नु राम्रो।

एकै मूलको पानी बग्दा, कालो, सेतो भन्ने कहाँ?

एकै छतमा मिलेमतो, एउटै माला गाँस्नु राम्रो ।

मेची दुख्दा काली गइ, मल्हम पट्टी लगाउँदै

हिमाल,पहाड,तराई मिली,एकै गाडी हाँक्नु राम्रो ।

भाइ फूटे गवार लुटे, भन्ने गर्थे बुढापाका ।

गोर्खालीको वीर गाथा, सधैँ अमर राख्नु राम्रो ।

हात काटे उस्तै रगत, चार वर्ण छत्तीसको

ठूलोसानो,जातीपाती, भन्ने रोग मास्नु राम्रो ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।