ऊ र म कामविशेषले बजारतिर जाँदै थियौं । चोकमा उभिएर अक्षरहरू गफ्फिदै थिए । स्वाभाविक उत्सुकतकवश के रहेछ भनेर कान थाप्यौंं । खानेकुराको चर्चा रहेछ । झ्याप्प सुनिहाल्यौं । गफ यस्तो थियो । –
क– लसुन–प्याज यी तामसी चिज हुन् । खानु हुन्न । मैले खाएको छैन । खान्न ।
ख– लसुन–प्याज त वनस्पति हुन् । खानु हुन्छ । म खान्छु । खसी–बोका पो खानु हुन्न ? मैले खाएको छैन । खान्न ।
ग– आ, किन हुन्न ? सबैले खाइआएको कुरा । म त खान्छु । गाई खानु हुन्न । मैले खाएको
छैन । खान्न ।
घ– धत् किन हुन्न ? दुनियाँले खान्छ । केहीले नखाएर हुन्छ ? क्या चोपिला हुन्छ । आफूले त कति खाइयो कति ? म त खान्छु । घुस खानु हुन्न बरु । मैले खाएको छैन । खान्न ।
ङ– सय–पचास लिनु काम छिटो फत्ते गरिदिनु, त्यो घुस होइन । मैले त खा’छु । खान्छु । उड्नेमा जहाज र हिंड्नेमा गाडीगुडी खाएको छैन बरु । खानु हुन्न । खान्न ।
च– नाथेहरू ! किन हुन्न ? मैले त सब खा’को छु । प्लेन पनि खा’छु । प्लान पनि खा’छु । जेट पनि खा’छु । गेट पनि खा’छु । उड्ने–बुड्ने–गुड्ने सबै खा’छु । देश खा’छैन । खानु हुन्न । खान्न ।
छ– मुला ! त्यही शेष छ अब । त्यो मेरो भाग हो । थोरै–थोरै गरी अर्थात् किस्ताबन्दीमा खान थाल्या’छु । पछि चाल पाउलाऊ तिमीहरू । .........
गफ त चल्दै थियो । त्यसले देश खाँदा चपाइन्छु कि भनेर होला ऊ त्यहाँबाट कुलेलम ठोक्यो । पर पुगेर फरक्क फक्र्यो र उसले मलाई ‘ए, भाग् ! भाऽग् !!’ भन्यो । म भागिन । देशै रहन्न भने म पो भागेर कहाँ जान सक्छु र ? म यी यहीँ छु ।