18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

समुद्र र सपना

कथा सञ्जु बजगाईं March 15, 2010, 7:14 pm
सञ्जु बजगाईं
सञ्जु बजगाईं

म रातभर पर्खाईमा निदाउन सकिन । सिमोन पनि झण्डै अनिदो नै रह्यो । बिहान सात बजेदेखि लुफ्थान्सा एअरको अराईभल गेटमा आँखा गाडेर बसिरहेकी छु । तर्कना–बिर्तकना मनमा खेलिरहे । अगाडि नआईपुगेसम्म ढुक्क हुन सकी रहेकी छैन ।

“पेसन्स डियर !” मेरो अस्थिरता देखेर सिमोन भन्छ ।

“ओके.....! फाईभ मिनेट्स मोर ।” यी अन्तिम मिनेटहरुका लागि धैर्य गर्न खोज्छु म । शरीर स्थिर भएपनि आँखाहरु टर्मिनलबाट निस्किदै गरेका भीडमा उनलाई खोज्न कुदिरहन्छन् ।

कान्छ्यामा दशौं टाउका पछाडी देखिईन् । सभ्यहरुको भीडलाई धकेल्दै पाँच मिटर टाढा देखिएकी कान्छ्यामालाई अँगाल्न पुग्छु । बेस्सरी सुम्सुम्याउँछु तिनका चाउरी परेका गालाहरु । तिनका भाँसिएका तर तेजिला झैं लाग्ने आँखाहरुसँग बात गर्छु । मान्छेहरुका रङ्ग देखेर अलमलिएकी तिनी मलाई हेरिरहन्छिन् ।

“थ्यांक्स फर द सर्भिस ।”कान्छ्यामालाई हामीसम्म ल्याईपुर्याउन सहयोग गर्ने एअर होस्टेजलाई धन्यवाद दिएर हामी निस्कियांै ।

फर्किदा गाडी सिमोनले चलायो । म कान्छ्यामासँग जोडिएर पछाडी सिटमा बसे । समर भ्याकेन्सी भर्खरै शुरु भएकाले मान्छेहरुको फ्रान्स भित्रिने र फ्रान्सबाट बाहिरीने क्रम बढेको छ । हाईवेमा एअरपोर्टतिर हुँईंकिने गाडीहरुको संख्या सामान्य भन्दा कयौ गुणा बढी देखिए । चिल्ला सडकमा चिल्ला गाडीको ताँतीले कान्छ्यामा निकै रमाईन् । गाडीका शीसाबाट देखिएका फाँट जस्ता लाग्ने बाली लगाईएका हरिया प्लटहरु, बढेमानका कल्चौडो गरेका गाईका बथानहरु, सडकछेउ बनेका स–साना सुन्दर घरहरु, अंगुरका बगान,कालै पाकेका आरु बखडाका बोटहरुले झन् रोमान्चित भईन् ।

“कस्तो स्वर्ग जस्तो ठाउँ पो रहेछ त !”बाहिर देखिएका दृष्यमा मोहित हँुदै बोलिन् । हुनपनि घरको बैठक सजाउन यस्तै चित्र कोरिएका धेरै पोस्टर उनैले किनेर ल्याउँथिन् । तिनै पोस्टरहरु आँखाहरुले जीवन्त भेट्न पाउँदा उनी रोमान्चित हुनु स्वभाविक थियो ।

“कान्छ्यामा थकान भो होला नि ! यत्रो लामो यात्रा । म सिट फोल्ड गरुँ ? ढल्किदा आराम हुन्छ ।” मैले सोधें ।

“तँलाई भेटेंपछि थकान सबै मेटिए ।”तिनले मेरो निधारमाथिको कपाल पन्छाउँदै भनिन् । झयाम्लै छोडिराख्ने मेरो कपाल तिनले लाखौं पटक पन्छाईदिएकी हुन् । कयौ स्टाईलका चुल्ठो पनि बनाईदिएकै हुन् । बर्षौपछि आज फेरी तिनले उसैगरी मेरो कपाल पन्छाईदिईन् । कपालको रङ्ग बदलेपनि कान्छ्यामाका हातको स्पर्श पुरानै पाएँ मैले ।

“कत्ति टाढा बस्छौ हौ तिमीहरु ?” घण्टाको बाटो कुदेपछि तिनले सोधिन् ।

“अब पुग्नै लाग्यौ । यो पानीको ठुलो नहर काटेपछि हामी बस्ने शहर आउँछ । त्यसपछि त दश मिनेट पनि लाग्दैन घर छिर्न ।” मैले अथ्र्याएँ ।

झण्डै बाटैभरि मैले तिनका हातहरु समाईरहें । ती हातहरुमा भेटिएको अपनत्वको रापले म पुलकित भैरहेकी थिएँ । बिरानो मुलुकमा ऐसो–आराम,नाम–दाम,मोज–मस्ति पाए पनि आफन्तको तातोपन कहिल्यै अनुभुत गर्न पाईएन । त्यसैले कान्छ्यामासँग बिताउने पल–पललाई संजीवनी मानेर पिउँन आतुर भएकी हँुदी हुँ म ।

“वी आर अराईभ्ड !” सिमोनले संकेत गर्दै गाडी घरको पार्किङ्गतिर मोड्यो ।

“सधैं सुखी रहेस ।” टाउको कोल्ट्याएर घरतिर हेर्दै बोलिन् कान्छ्यामा ।

सिमोनले कान्छ्यामाका हात समाउँदै गाडीबाट उतारेर बैठकसम्म लिएर गयो । अनि

फ्रेन्च ग्यास्ट्रोनोमीको ब्याख्या गर्दै खाना बनाउनतिर लाग्यो ।

मेरो र कान्छ्यामाको दिनभर खासखुस चलिरहयो ।

छ महिनाभन्दा बढीदेखि घर छोडेर उनी नजिकैको कालीथानमा बस्न थालेकी थिईन् । मागेर बटुलेका रुपिँयाको पुरी तरकारी किनेर पेट भर्थिन् रे । अति भएपछि छिमेकी श्यामली भाउजुले मलाई फोनबाट खबर दिएकी थिईन्, “छोराहरुलाई तपाईले केही भनिदिए हुन्थ्यो ।’

“किन घरै छोड्नु परेको त ?” मैले कारण सोधे।

“छोराबुहारीसँगको सम्बन्ध हिसाब–किताबमा बदलिए पछि ।” सोफमा खुट्टा तन्काउँदै तिनले भनिन् ।

“एउटा नभए अर्को हुन्थ्यो नि त ?” मैले भने ।

“सबै भाँडिएका छन् ।” तिनले अथ्र्याईन् ।

नजिकको तिर्थ हेला ! कान्छ्यामाको आवश्यक्ता कसैलाई भएनछ । ंयिनी बेकामकि त पक्कै थिईनन् । यिनको सोचाई भने फरक खालकै मान्नु पर्छ ! यिनी धर्मवादी थिईनन् । प्रभातमा पूजापाठमा लाग्दिनथिईन् । तसर्थः यिनका ललाटमा चन्दनको लेप चाडपर्व र बिशेष तिथिमा बाहेक कहिल्यै हुन्नथ्यो । यिनी जातिवादी पनि थिईनन् । त्यसैले होला तिनका कपडा सिउन आउने तुके दमिनीलाई घरभित्रकै एउटा कोठामा मिशिन बिसाउन दिन्थिन् । चाँणक्य नीति र बधुशिक्षाको खिल्लि उडाउँथिन् तर नारी आदर्शको ब्याख्या भने मज्जैले गर्थिन् ।

मेरा लागि त उनी सबैथोक थिईन् । आमा नभएकी टुहुरी मलाई तिनले सामिप्यता नदिँदिहुन् त मैले स्नेहको अर्थ कसरी बुभ्ने थिएँ ? सिमोनसँगको मेरो जीन्दगीको शुरुवात यिनलै संभव गराईदिएकी हुन् । सिमोनलाई मैले मन पराएको थाहा पाउँदा घरकाहरु आगो जस्तै बले । सौतेनी आमासँग मेरो सम्बन्ध खुकुरी र अचानो बराबर थियो । यिनैले उक्साईन्– खैरै असल छ । भाग यसैसँग भन्थिन् । पिस्कोर भोलेन्टियर्स भएर आएको सिमोन कान्छ्यामाकै घरमा भाडा तिरेर बसेको जो शान्त, गम्भिर स्वभावको थियो । धर्म र विधिको आख्यान गरेर गुजारा गर्ने प्रख्यात पण्डित बुबा मेरा ! कान्छ्यामा नहुँदी हुन् त यत्रो संसार तोडेर सिमोनसँग बैवाहिक जीवनमा बाँधिने आँट कहाँ हुन्थ्यो होला ?

“मेरा लागि जति गरिदिनुभो त्यसका लागि ऋणि छु कान्छ्यामा !” आँखा चिम्लिएर लम्पसार परेकी उनलाई हेर्दै बोल्छु म ।

“ऋण त म बोक्दै छु । महिनैपिच्छेका आश्रमलाई तिर्ने रकम त तँैले तिर्छेस् ।” वर्तमानको कुरो गर्छिन् उनी । छोराहरुले अशंबण्डामा सबै लुछाचुड गरेछन् । घर पनि पाल्छु भन्ने छोराले लिएपछि कान्छ्यामाको के बच्यो र ? श्यामली भाउजुका कुरा सुनेपछि मन मानेन । त्यसैले आश्रममा बस्ने ब्यवस्था मिलाउनु आफ्नो कर्तव्य संझिएँ ।

“आश्रममा दिन कटाउन रमाईलै छ नि कान्छ्यामा ?” मैले जान्न खोजे ।

“राम्रो छ । म मेरा लागि बाँच्न पाएकी छु ।” तिनले भनिन् ।

कान्छ्यामाले जीवन अधुरो बाँचेको कुरा ओकल्थिन् कहिलेकाही । तिनले भोगेको बिगत मेरा लागि केवल चाख लाग्दा कथा झैं हुन्थ्यो । म सुन्थे ।

“कान्छ्यामा जीवनमा रहर गरेर पनि पाउन नसकेका सम्पुर्ण कुराहरु भन्नुहोस् म पुरा गर्ने कोशिस गर्छु ।” यीनका थोरबहुत ईच्छाहरुलाई किन कुण्ठित पार्नु ? मैले मनमनै संझिएँ र भने ।

“धित खोलेर श्रृगारिएर बजार घुम्ने मन छ । आकाश र पाताल जोड्ने समुन्द्री आकार हेर्ने मन छ । जिन्दगीलाई मोजसँग भोगेकाहरुको भीड हेर्ने मन छ । भनेजस्तै भए एउटा अत्तरको बोतल किनेर ल्याउने मन छ ।” तिनले बाधेर राखेका रहरहरु असरल्ल फुकाईन् ।

कान्छ्यामाको समुन्द्र हेर्ने रहर पुरा गर्ने बिचारले यसपटकको सिमोन र मेरो एक हप्ताको छुट्टी ब्रिटानी कोस्टमा बिताउने प्रोग्राम बनायौ । भोलिपल्टै कान्छ्यामालाई श्रृगारिने बडी सेम्पो, बडी लोसनदेखि लिएर, ब्लस, लिपस्टिक, मस्करा, हाईलाईटर, हेयरस्प्रे र पफ्र्युमको बोतलसम्म ल्याईदिएँ जसमा कान्छ्यामाको रहरहरु भरिएका थिए । “समुद्री वीच”मा लगाउन हाफ पाईन्ट, स्लीभलेस र सन ग्लास पनि ल्याएँ ।

“कान्छ्यामा सानो गिफ्ट !” बैठकमा आराम गरिरहेकी कान्छ्यामालाई सप्राईज गरे मैले । उनले खोलेर हेरिन् । त्यसबेला तिनको अनुहारमा भएको रङ्गको रुपान्तरण हेर्न लायक थियो । अत्तरको बोतल झिकेर तिनको शरीरमा छर्किदिएँ । राणा पुरोहित बाबुकी छोरी उनी ! देव शमशेरको दरबार आहोर–दोहोर भैरहन्थ्यो रे बाबुसँग । झपक्क श्रृगारिएर अत्तर छरि बसेका राणा खलकका आईमाईहरुसँग उनको बाल संसर्ग धेरै भएको रे । त्यसबाट प्रभावित कान्छ्यामाको बाल मस्तिष्कमा नारी र श्रृगार एक अर्काका पर्यायवाची जस्तो थियो । श्रृगारिने उनको प्रवृति हजुरआमा भैसक्दा पनि हराउन सकेन । र्दुभाग्य ! श्रृङ्गारिएर बाहिर निस्किने उनलाई प्रायः सबै सर्कसको जोकर मान्थे । तिनका कुरा काट्थे । ति अर्धमानव हुन्थिन् सबका लागि ।

“यी कपडा कस्का लागि ?” हाफ पाईन्टको प्याकेट खोल्दै सोधिन् ।

“तपाईका लागि ।” म्याडम म्वाज जस्तै भएर “क्विरोन वीच” घुम्न जाने ।

तिनी सोफाबाट उठिन् अनि ठट्टा गर्दै हाफ पाईन्ट घुसार्न थालिन् ।

“यी सुकेका पिडुँला देखाउन मिल्ला र ?” तिनले मनको आशंका बोलिन् ।

“एकदम मिल्छ । यस्ता पिडुँला यो उमेरमा हुनु त भाग्यको कुरो । श्रृगारिनुहोस् ! मन

खोलेर । न बुहारी, न सम्धिनी, न रेती चलाउनेहरुको भीड । यहाँ बसिन्जेलका एक–एक पलहरु स्वतन्त्र जीउँनुहोस् ।” तिनका दबेका ईच्छाहरुलाई जगाईदिएँ फेरी ।

“फर्किएपछि त छदै छ नि मेरो आश्रम ।” तिनी यथार्थ अस्तित्व खोल्छिन् ।

“छोराले खान दिएको हिसाब मागेपछि के फरक भो घर र आश्रम ? बाह्र छोरा तेह्र नाती बुढाको धोक्रो काँधै माथि ।” मैले थपें ।

“छोरो आफैले रोजेको हैन र ?” अनि संझना गराईदिएँ ।

“रोजाईमा कहिलेकाहीं धोका हुँदोरहेछ ।” पश्चाताप गर्दै बोलिन् ।

सिमोनले ब्रिटानी कोस्टका जानका लागि शुक्रबार बिहानै तैयार हुन भनेको थियो । उसका आमापट्टिका हजुरबुबा त्यहींका थिए रे । त्यसैले ऊ पुख्र्यौलि ठाउँ जान मख्ख थियो । सबेरदेखि नै घामको तातोपन रापिलो थियो । मध्यदिनलाई भने “क्विरोन वीचको” समुन्द्री छालसँग बिताउने सुरले निस्कियौै ।

मध्यान्हको बाह्र नबज्दै पुग्यौै होटेलमा । मेरी कान्छ्यामा हाफ पाईन्ट र स्लीभलेसमाथि सनग्लास पहिरिदा साँच्चै म्याडम म्वाजहरु भन्दा कम थिईनन् । म गर्वले ढपक्क फुले भित्रभित्रै । लन्चमा सि–फुड खाएर हान्नियौ सामुद्रीक वीचतिर ।

मान्छेहरुले भरिएको किनारै–किनार पैदल हिड्न थाल्यौ हामी । सेतो बालुवामाथि हिड्नुको मज्जा नै बेग्लै । बेला–बेलामा उठ्ने बडेमानको छाल देखेर कान्छ्यामा किनार छोडेर भाग्थिन् । आफूले देखेको तमोर, सप्तकोशी, नारायणी, त्रिशुलीका सानातिना छालहरुसँग यसको कुनै तादम्यता पाईनन् तिनले ।

“तमोरमा जलाएका लाशहरु पक्कै यहीं आईपुग्दा होलान् हगि ?” तिनले आँखीभौ उचाल्दै भनिन् ।

“मृत्युको कुरो मिठो हुन्न क्या कान्छ्यामा ।” मैले कुरो काटे र उनीसँग बिताएका स्मृतिका पाताहरु पल्टाएँ । तिनले ख्वाएका सुन्तला, मुन्तलाका स्वाद संझिएँ । देव शमशेरले समेत गोडा धोएर अन्मिएकी कान्छ्यामालाई आधाबाटो पुगेपछि जेठाजुले घोडाबाट उतारेको नमिठो पललाई कोट्याएर सम्झाइदिएँ ।

“साँच्चै किन उतारेका ?”उतार्नुको कारण कान्छ्यामाले खोलेकी थिईनन् ।

“किन हुन्थ्यो घर गरी खाने खालकी छ छैन भनी जाँचेका नै । तिनले जेठाजुको छिद्रो खोल्दै भनिन्– स्वास्नी मरेको राँणो भाईलाई म जस्ति केटी पाउँदा नि घैँटाको बिर्को नखुलेको !”

“किन दिएका त ? घरका त त्यसबेलाका भए पनि पढेका थिए नि ।” म सोध्छु ।

“पन्छाएका .......।” तिनले कुरोको बिट मारीन् ।

कान्छ्यामाको जिन्दगीका उल्टा–सुल्टा मोड त्यहींबाट शुरु भएछन् । मनले नखाएको लोग्ने, बर्षेनीका सन्तान, आर्थिक अभाव, मार्नु परेका ईच्छा–चाहना.......।

“कान्छ्यामा त्यो डाक्टरको कुरो नि ?”एकपटक तिनले अलिकति सुनाएकी थिईन् । सिमोन र मेरो कुरो चलेको बेला ।

“अब तँ पनि.....दिवा स्वप्नको के कुरो गर्नु ! तिनले संझिए झै गरिन् र भनिन्–त्यो मेरै उमेर बराबरको हुँदो हो । काखमा जन्तरे छोरो ! जाँच्न थाल्यो बच्चोको छाती त्यसले । मलाई केले खिचेको ? त्यसका चश्माले छोपिएका आँखाहरुका भित्रैसम्म छिरेछु । पत्तै नपाई ! मलाई उसैसँग जाउँ–जाँउ लाग्यो । बच्चासँगको मेरो नाता बिर्सिएँ । जब त्यसले पुर्जी थमाएर औषधि किन्न जानुस भन्यो म झस्किएँ । यथार्थतः मैले एउटा जजमानसँग जीन्दगी बिताउनु थियो । डाक्टर कहाँ पुग्यो के था ?” तिनले अथ्र्याईन् ।

“मान्छेको मन त जुनै जमानाको भए पनि उस्तै हुने हगि ?” कान्छ्यामाका ठाउँमा आफूलाई उभ्याएर बोल्छु ।

“सबै छल गर्ने सडक मध्यको “मिराज” हो । मेरा लागि कोही भएनन् । बिगत फगत मेरो जीन्दगीको एउटा पाटो हो । अस्वीकार गर्दै स्वीकार गरिएको ।” कान्छ्यामा त साँच्चै कठोर भैछन् ।

“रगतसँगको नाता जिन्दगीको पाटो नभएर शास्वत सत्य हो कान्छ्यामा ।” जोड दिन्छु म ।

“तेरो र मेरो नाता शास्वत सत्य होईन ! उसोभए यो सब किन ?” प्रेम भरिएका तिनका आँखाहरुले मलाई प्रश्न गर्छन् । मसँग जवाफ छैन । सत्यत कान्छ्यामा र म बीचमा रगतको नाता छैन । उनको र मेरो नाता केवल भावनाको हो । हामीबीच साटासाट भएको प्रेमको नाता हो ।

“उसो भए रगत, नाता र सम्बन्ध सबै भ्रम हुन् ।” म प्रश्न गर्छु ।

“यथार्थ केवल भोगाई हुन्छ । बाँकी सबै भ्रम । जन्म र मृत्यु सत्य हो बाँकी सबै झुट ।” कान्छ्यामाले प्रसङ्ग टुंग्याईन ।

समुद्री तटमा चलेको हावाको तातोपनले तिनी तातिसकेकि थिईन् । सेतो बालुवामाथि हाम्रा पदचापहरु निकै कोरिईसकेका थिए । झण्डै तीन किलोमिटर हिडिसकेका थियौं । त्यो समुद्री महौल, बिकीनीमा छालभित्र रुमलिरहेका अधबैशेहरु, सनब्लक क्रिम दलेर लम्पसार तरुनीहरुमाथि खिपिएको सूर्य ! पानीमाथि चलिरहेका समुन्द्री वोटहरु ! जीवन्त थियो वरिपरी ।

“कान्छ्यामा बरफ चुस्ने हो ?” मैले जिस्क्याँए ।

“कुरा काट्नेहरुका नाममा !” तिनले थपिन् ।

सिमोनले भानिला भरेको आईसक्रिमको कर्न ल्याएर थमाईदियो । तिनको बरफ चुस्ने रहर पनि पुरा गरिदिएँ । दिन ढल्कदै जाँदा पानीको छाल बढेर अझै नजिकिदै जान थाल्यो । हामीले तातो बालुवामाथि बसेर क्षितिज हेरिरह्यौं । पर–पर लालीमा भरेर सुर्य समुद्रको गर्भभित्र भाँसिदै गयो भोली फर्किने बाचा गरेर । जीवनको सन्ध्यामा टेकीसकेकी कान्छ्यामा अस्ताचलको सूर्यलाई चिम्सा आँखाले हेर्दै समुद्रको पानीमा आफ्नो प्रतिविम्व हेरिरहेकी थिईन्, शायद चाउरी परेका गाला सुम्सुम्याउँदै जीवनको अर्को पाटो खोज्दै थिईन् ।

ब्रसेल्स, बेल्जियम

नेपाल साप्ताहिक १४ मार्च २०१०

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।