मायाको त्यो रुप देख्छु, माछापुछ्रे शीर।
कल्पनामा आफु हुन्छु, फेवातालको तीर।।
आनी बानी रै'छ उनको, गण्डकी र कोशी।
छाती भित्र गुराँसे लेक, तोरी फुल्ने बेंशी।
सम्थल् हुदै आयो मेरो, मनको तारेभीर।
देखे पछि मुहार उनको, भुल्छु सबै पीर।।
लुम्बिनीको शान्तिदीप, जस्तै आँखा नानी।
त्यसैले त होला दृष्टि, हिंउ खोलाको पानी।
मनले रै'छ, हुने मान्छे, सगरमाथा शीर।
उसले देख्छ आफ्नो जस्तै, अरुको नि पीर।।
मायाको त्यो रुप देख्छु, माछापुछ्रे शीर।
कल्पनामा आफू हुन्छु, फेवातालको तीर।।