मनको जस्केलो
उघारेर हेर्दा
क्षितिजमा पर
उज्यालो देख्छु
चाहा...बढ्छ,
निष्पट अँध्यारो
सिलोटमा
बल्ल इन्द्रीयहरु
घोट्दैछु....
बिचलनको
आँधीबेहरीले
लछारीएर,
खिया लागेको मन
युगको धार टल्काउन,
घर्याक...घर्याक...घर्याक
बेलाको रेतीले
रेटदैछु....
हिजै जीवनको
भोगाइ खण्डमा
एक चोटी दृष्टीपात
गरेको भए....
आँखाको बलेनीबाट
पश्चातापको शीत
तप तप खस्छ,
संगै ब्रमाण्ड देख्ने
आशाको दिउल
फुट्छ,,,बिस्तारै
उत्तरआधुनिक
ग्रीनहाउसमा
सार्दैछु....
एक एक दिमागी
चारकोसे भित्र
चेतन, अर्ध चेतनका
ऐजेरु काँट छाँट हुदैछन,
अशल र कमसलका
सत्तीसालहरु....
युगिन जलवायु
परिवर्तन भित्र
म पनि
ग्लोबल वर्मिङको पाठ
सिक्दैछु....
सितलपाटी-६,संखुवासभा; हाल: इजरायल