भेटेसम्म हजुरको 'चरण’ पनि परेकै छु
देखेसम्म हजुरको 'सेवा’ पनि गरेकै छु
रिस देखेँ मुहारमा आपत् के आइलाग्ने हो
सकेसम्म हजुरको 'तोङ्बा’ पनि भरेकै छु
मेरो भन्नु के छ र ! सबै हजुरकै त हो
भ्याएसम्म हजुरको 'मेवा’ पनि छरेकै छु
आफूजस्तै अरू ठान्ने बुद्धि चाहिँ नफिर्ने भो
बुझेसम्म हजुरको 'खातिर’ आफू मरेकै छु
दुःख लाग्छ एउटा कुरा नबुझी नै मरिने भो
सम्झेसम्म हजुरको 'तल’ आफू झरेकै छु
मुठ्ठी कस्यो 'टेकेन्द्र'ले साथ अब तोडिने भो
जानेसम्म हजुरको 'मुटु’ मैले चरेकै छु
ज्यामिरे-८, खोटाङ, हालः विराटनगर