हिउँको तन्ना
कृष्णको बाँसुरीमा
पानीको रेखा
पाँच-सात-पाँच अक्षरीय शब्द संयोजनमा सिर्जना हुन्छ हाइकु । जापानी शैलीको छाटो कविताको रुपमा लिइने र नेपाली साहित्यमा केही वर्षदेखि लेखिँदै आएको हाइकुमा कलम चलाउनेको संख्या पनि प्रतिदिन बढ्दो छ । यसैक्रममा माथिको हाइकुलाई नेतृत्व दिएर कृष्ण बजगाईंले हिउँको तन्ना नामक हाइकु संग्रह पाठकसमक्ष पस्किएका छन् । “प्रकृति दर्शनमा केन्द्रित रही तीन हरफमा रचना हुने हाइकु सघन दर्शन परिदर्शनको उच्चकोटिको काव्य हो ।” भूमिकामा प्राध्यापक डा. रामकुमार पाण्डेले भनेका छन् ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अमेरिकाले प्रकाशन गरेको उक्त पुस्तकमा दुई सय छवटा हाइकु संग्रहित छन् । धरानका बजगाईंले बेल्जियमको ब्रसेल्समा नौ वर्षदेखि रहेर पनि हाइकुमा नेपाली बिम्ब प्रयोगमा कमी आउन दिएका छैनन् । उनका हाइकु सौन्दर्यचेत र ब्यंग्यले भरिएका छन् । समाजका महासचिव रहेका उनले एक वर्षअघि यन्त्रवत् नामक लघुकथा संग्रह निकालेका छन् । पहिलोपटक हाइकु संग्रह तयार पारेका उनले भनेकाछन् –“थोरै शब्द खेलाएर धेरै कुरा भन्न खोज्नु निश्चय पनि सजिलो काम होइन ।”
अन्नपूर्ण पोष्ट, २०६६ बैशाख ५