18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

कमरेड स्वास्थ्यका लागि हानिकारक छ ! (ब्यङ्ग्य कविता)

हास्यव्यङ्ग्य लक्ष्मण गाम्नागे February 18, 2010, 12:43 am

बाहिर चर्को घाम छ कमरेड

समस्यै समस्याको जाम छ

धुलो, धुवाँ र दुर्गन्ध छ

हुलदङ्गा, लूटपाट र नेपाल बन्द छ

सुती ऽऽऽऽऽ रहनुहोस् कमरेड मायालुको अङ्गालोमै

बाहिर निस्कनु कमरेडको स्वास्थ्यका लागि हानिकारक छ ।

भित्र छ बोत्तल भित्रै छ मात

भित्रै छ चौरासी व्यञ्जनको खात

भित्र छ सेमिनार, साँप्रा र सुकुटी

भित्रै छ देशको राष्ट्रिय ढुकुटी

टोकी ऽऽऽऽऽऽऽऽ रहनुहोस् कमरेड कुटुकुटु हाड

बाहिर निस्कनु कमरेडको स्वास्थ्यका लागि हानिकारक छ ।

बाहिर त बाढीमा डुबेका झोपडीहरू छन्

अनिकालले सुकेका कङ्काल र खोपडीहरू छन्

अदालत बाहिर छ, न्यायाधीशहरू भित्रै छन्

कानून बाहिर छ, वकीलहरू भित्रै छन्

बाहिर त फुटेका खुट्टाहरू मात्रै छन् कमरेड

टोपी लगाएका टाउकाहरू भित्रै छन्

बाहिर विपक्षीहरू मात्रै छन् कमरेड

समकक्षीहरू भित्रै छन्

जमी ऽऽऽऽऽऽऽऽ रहनुहोस् कमरेड म्यारिजमै

बाहिर निस्कनु कमरेडको स्वास्थ्यका लागि हानिकारक छ ।

झण्डा भित्रै छन् कमरेड !

भित्रै छन् झण्डा गाड्ने चिल्लाचिल्ला गाडीहरू

भित्रै छन् गाडीमा अडेस लागेका किर्ना, उडुस् र ढाडीहरू

भित्र छ बण्डा भित्रै छ भाग

भित्र छ रति भित्रै छ राग

बाहिर निस्किसक्नु छैन कमरेड

दिउँसै पनि मध्यरात झैँ अन्धकार छ

भित्र रातमै पनि झल्झलाकार छ

थच्ची ऽऽऽऽऽऽऽऽ रहनुहोस् कमरेड ट्वाइलेटमै

बाहिर निस्कनु कमरेडको स्वास्थ्यका लागि हानिकारक छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।