18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मेरी छोरी (ब्यङ्ग्य कविता)

हास्यव्यङ्ग्य बोधराज पन्त February 18, 2010, 12:22 am

छोरी

यो नखरमाउली मोरी

शरीर हेर्यो कलकलाउंदी कलीलो तामा जस्ती

नाक कान आंखा मुख काटी कुटी आमा जस्ती

पढ्न लेख्न चतुर छे कागको फुल चोर्र्छेे

दिनभरमा दश पन्ध्रोटा लभ लेटर कोर्र्छेे

मेरी छोरी

यो नखरमाउली मोरी ।

ó ó ó

पच्चीस नाघी छब्बीस लागी बालकै त हो नि ।

उंचाई भन्दा गोलाई ठूलो के भएको कुन्नी ।

खान पनि खाएकै छे कुम ठोकी ठोकी

क्या हो क्या हो यसको ब्यथा झांक्री बोक्सी हो कि ?

छोरो भन्दा मेहनति आठ बजे उठ्छे

उठे पछि हत्तपत्त घरधन्धामा जुट्छे

चिया खान्न कफी उसको तयार हुनु पर्र्छ

होइन भने आमा चैं को बंगारो झर्र्छ

चर्पी सफा हुनु पर्छ एक घण्टामा भ्याँउछे

चर्पी भित्रै गुनुगुनु पप गीत गाउछे

मेरी छोरी ।

अचम्मकी मोरी ।

ó ó ó

सजिली छे जाडो गर्मी दुबै उसका साथी

इज्ज्यत ढाक्न फ्रक लाउछे घँुडा माथि माथि

उसको चोलो दुइटा टोपी भन्दा ठूलो हून्न

फेरि पनि किन उसलाई यो जाडोले छुन्न ?

आमा चैं ले एकदिन उसको जुत्ता लाइछ

खुट्टा भाँची अ‍ैले चाँही अस्पताल गै छ

उसले हिंड्दा बजारमा ट्राफिक जाम हुन्छ

सिठ्ठी बज्छन् चारैतिर कोहराम हुन्छ

मेरी छोरी ।

यो कनक सुन्दरी ।

क्लव जान्छे के के खान्छे वेस्टर्न भइन्छ रे

जति मात्यो त्यति त्यहां मोडर्न भइन्छ रे

ट्याक्सी चढ्छे खुर्र खुर्र उसको रौनक कस्तो छ

उसको बाऊको बुढो साइकल उसको सौता जस्तो छ

फतफत फतफत बोलिराख्ने यो बाँसघारीको सारी हो

मर्ने बेला म बुढोको गर्धनको यो आरी हो

बोले दुई आंखाबाट क्षेप्यास्त्र छाडीदिन्छे

आमा चैं ले त्यसै माथि बारुद हाली दिन्छे

यो जनाना को मनाना साह्रै दूख रै छ प्रभु ।

यौटा लोग्ने छँदा छँंदै फेरि .........गइछ प्रभु ।

स्वतन्त्रता समानता ऊ नारीवादी मान्छे हो

आज जान्छे भोली आउंछे जर साहवको भान्से हो

सहनु हुन्न सहे पछि कमजोर भइन्छ भन्छे

पोइकोघरमा मन लाग्दा लाग्दा गइन्छ भन्छे

मेरी नानी ।

कति राम्रो बानी ।

मुक्त कण्ठ खोली

जब बोल्छे बोली

अत्तो पत्तो पाउंदिन

खुस्किएको चोली ।

यो न्यूरोडको रेष्टूँराको एक बोतल वियर हो

लङ्रुटको गाडीको यो पांच नम्बर गियर हो

गांजा, चरस ह्विस्की, वाईन रिल्याक्स चाहिन्छ रे

ज्युंदै स्वर्ग पुग्नु परे स्म्याक्स चाहिन्छ रे

सधैं उसलाई माइकल ज्याक्सन म्याडोना मनपर्र्छ

बप्पी काका, सलीम जावेद, अमीर खान मन पर्र्छ

संजु दादा जेल पर्दा उसले अनशन बसी

दाँयाँ आँखो फुर््यो उसको दीब्या दिदी खसी

अमरीशपुरी देखी भने उसको सातो उड्छ

शतीश भैया आए पछि मुक्त हांसो फुट्छ

एल. टी. भी., जी. टी. भी. या स्टार टी. भी. हेर्र्छेे

ने. टी. भी. को कुरा मात्रै गर्दा टाउको फेर्र्छे

यूधीर थापा, प्रकाश कोविद यस्ले पढ्ने पाठ

रानु ,मनोज ,गूलशन नन्दा यसका दाहिने हात

मुनामदन कस्ले लेख्यो ? थाहा छैन भन्छे

दुईमा दुई जोड् भन्दा सात चोटी गन्छे

यो घाँंटीको हाड

मेरो गरिबिको चाड

नमनाऊँ संस्कृतिको अवमुल्यन हुन्छ

मनाऊँ भने आफ्नै खल्ती धुरु धुरु रुन्छ

मेरी छोरी ।

तँ किन यस्ती मोरी ?

  

कालो कपाल रुचाउन्न रातो विगेन दल्छे ऊ

मेरी प्यारी मोनालिसा धप्प धप्प बल्छे ऊ

कति मीठो मुस्कुराउँछे ट्रोयकाकी हेलेन हो

होंचो होंचो गोलो गोलो यो बीस लिटरको ग्यालेन हो

थाईल्याण्डको हेयर ड्रेसिङ सलवार कुत्र्ता प्यारालल

अमेरिकन पेन्सिल हिलमा घुम्न जान्छे नैनीताल

यस्को जवानीको जोश

मेरो कुण्डलीको दोष

आँखा चिम्ली बाटो हिंड्ने कस्तो यस्को होश ।

प्रभु । यसलाई नैतिकताको क ख सिकाइदेउन

हाम्रो आफ्नै संस्कृति छ यल्लाई बताइदेउन

भाषा भेष ,आफ्नो देश भुल्न हुन्न भन्देऊ

राती राती घर छाडी डुल्न हुन्न भन्देऊ

यो सांस्कृतिक दाशताको जल्दो बल्दो रुप

आफ्नै हड्डी उमालेर कति खाने सूप

जे जे यसले गर्छे सबै आत्म बञ्चना हो

आघात हो आफै माथि घोर यन्त्रणा हो

मेरी छोरी ।

यो छोरा भन्दा मोरी

हेर्दा गोरी गोरी यो हो जल्लादको डोरी

यो प्रभुको लीला

मेरो टाउकोमा कीला

जोगी बन्छु म त बुढी

बन्दोबस्त मिला

मेरी छोरी ।

यो नखरमाउली मोरी ।

मणिग्राम, रुपन्देही

  

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।