अचानक मेरा पाइला रोकिए। भर्खर चुवाको माला ढुङ्गामाथि राखिएको थियो। सिन्के धूप जलिरहे थियो। लाग्दथ्यो, वर्षौसम्म पत्कर र वनमाराले छोपिएको ढुङ्गा सफा गरिएको थियो। बाटोमाथि अर्को ठूलो चुच्चे ढुङ्गा उभिएको थियो। यो चारै दिशाबाट छर्लङ्ग देखिन्थ्यो। निर्जन ठाउँको मूलबाटोमा कस्ले प्रेमको फूल चढायो? म आश्चर्यमा परेँ।
वरपर हेरेँ, कोही छैन। चिसो हावा बग्दै छ। लेकको उच्च डाँडापाखा उजाड देखिन्छ। शान्त छ। आकाश बादलले छोप्दै छ। बाटो भुइँकुहिरोले पातलो छोप्दै छ। म उभिरहेँ। पर भेडी चराउने गोठालो मतर्फ आइरहेछ। उत्सुकतासाथ सोधेँ “दाइ, यो ढुङ्गामा किन फूल चढाएको हो?”
“कसले चढाउँछ, कसैलाई थाहा छैन। यो ढुङ्गामुनि एउटा निर्दोष लास पुरिएको छ। चार वर्षअगाडि यहाँ नेपाल सेना र माओवादीको भयानक लडाईँ भएको थियो। गोठाला गर्दै गरेको स्थानीय निर्दोष रामप्रसादको ज्यान गयो। यस घटनाबाट गाउँ त्रस्त थियो। उसको सबै परिवार तत्पश्चात् तराई विस्थापित भयो। उसको घर पर छ तर भत्किसकेको छ। मलाई पनि थाहा छैन। प्रत्येक वर्ष चिहानमाथि कसले फूल चढाउँछ, हामी आश्चर्यमा छौँ।” ऊ भावविहृल भयो। फेरि मलाई सोध्यो “तपाईँको घर कहाँ हो?”
“म पनि दस वर्षपछि घर फर्किरहेछु। युद्धको प्रभावबाट मधेस बसाईँ झरेको थिएँ। घर बन्द थियो। बारीहरू बाँझै थिए। देशमा विद्रोह मत्थर छ। जनताको शासन प्रारम्भ भएको छ। इतिहासदेखिको सामन्त षडयन्त्रकारी सरकार ढलेको छ। मेरो घर लझ्याङ्क हो र घरगाउँ हेर्न आतुर छु।” वास्तवमा यस प्रकारको मायाको समपर्ण पोख्ने तरिकाबाट म पग्लिएँ। विभोर भएँ। मनमा हलचल मच्चियो। फेरि सोधेँ “को होला यसरी माया अभिव्यक्त गर्ने मान्छे?”
“कोही होला।” उसले जवाफ दियो।
मैले यात्रा प्रारम्भ गरेँ। मनभित्र सुखान्त–दुखान्त भावना उर्लिरहे। जब माथिल्लो कुइनेटो काट्न लागेँ फेरि फर्केर तल हेरेँ। डाँडागाउँको लेकमाथिको चुच्चे ढुङ्गा बादलले छोपिइसकेको थियो। यो लामो जीवनको अन्तरालमा म आफैँ नाङ्गो भएको मान्छे, के चढाउन सक्थेँ र मायाको त्यो सगरमाथामाथि। फगत सानो कथाको मुचुल्का उठाएँ।