आज शहरमा भव्य फोटो प्रदर्शनी कार्यक्रम हुँदै छ। जनआन्दोलनमा फोटो पत्रकारहरूको साहसिक कार्य र नेपाली जनताको बलिदानीपूर्ण आन्दोलनको नमुनाको रूपमा फोटो प्रदर्शनीको आयोजना हुँदै छ। वीर नेपालीले देखाएको बहादुरिता, पीडित घाइते र आफ्नो ज्यान गुमाएका सहिदहरूको सम्मानमा फोटो प्रदर्शनी हुँदै छ। अवलोकन गर्ने भीडहरूको माझमा एक जना व्यक्ति पनि छ जो शहरको धनाढ्यहरूको गणनामा पर्दछ। उक्त व्यक्तिले नेपाली जनताको बहादुरीबारे जानकारी गराउन आफ्नो नाबालक छोरालाई पनि सँगै लिएर गएको छ। बाबु र छोरा दुवै बडो उत्सुकताका साथ उक्त फोटो प्रदर्शनीको अवलोकन गरिरहेका छन्।
छोराको प्रत्येक प्रश्नमा बाबुले उत्सुकताका साथ जवाफ दिइरहेको छ। “यो देशको लागि ज्यान दिने सहिद” “ऊ त्यो प्रहरीको गोली लागी खुट्टा काट्नुपरेको घाइते” “अनि यसको शरीरको अङ्ग नचल्ने अवस्थामा छ, प्रहरीको दमनको कारणले” आदिआदि जवाफहरू क्रमशः बाबुले छोरालाई अर्थ लगाउँदै गयो। बाबुछोरा एकदमैँ दुःखमनाउ गर्दै उक्त फोटो प्रदर्शनीको अवलोकन गरिरहेका थिए।
फोटो पत्रकारहरूले आफ्नो मिहिनेतको पारिश्रमिक स्वरूप फोटोमा मूल्य अङ्कित गरी बिक्रीको लागि सूचना दिइरहेको थिए। तर अफसोच फोटो प्रदर्शनीको पीडामा हराएका व्यक्तिहरूले फोटो खरिद गर्नतिर ध्यान नै दिन सकेनन्।
फर्कने क्रममा गेटबाहिर आएर बाबुले गाडी स्टार्ट गर्न थाल्यो। त्यही समयमा एक जना मगन्ते जो वैशाखीको सहारामा त्यहाँसम्म आइपुगेको थियो, ले बाबुसँग हात अघि बढायो। उसले कराउँदै “यी मगन्तेले पनि जहाँ गए पनि सुख दिएनन्” भन्दै एक रुपैयाँ फ्याँकिदियो जुन मगन्तेको हातमा लागेर भुइँमा झर्यो। त्यतिनै बेला छोराले भन्यो “ड्याडी त्यो भित्रको फोटोको घाइते र यो मगन्तेको अनुहार उस्तै छ नि हगि?”