भुल भयो माफ गर, जीन्दगीमा धेरै भयो |
हिंड्दा हिंड्दै आधी बाटो, पुगे पछि थाहा भयो ||
होइन रै'छ जीन्दगी यो, मैले मात्रै सोचे जस्तो |
पाइल्यै पिच्छे झेलै झेल, हिंडे पछि थाहा भयो ||
संगै जीउने सँगै मर्ने, सातै जुनी संगै काट्ने |
व्यर्थै रै'छ बाचा-कसम, तोडे पछि थाहा भयो ||
आफ्नो मात्रै नाम लेख्यौ, मेरो नाम बिचमै काट्यौ |
पारख रै'छौ पासा फ्याँक्न, हारे पछि थाहा भयो ||
तिमी बाहेक मेरो अरु, पुग्ने ठाउँ छैन भन्थ्यौ ||
सपनाको जालमा पार्यौ, ब्युँझे पछि थाहा भयो ||
नुवाकोट, हाल बेल्जियम