18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत दीपक कथित November 14, 2009, 11:10 pm

जति जोडले बाजा बज्थ्यो, उति मन रून्थ्यो

हुने भए यो मनलाई, अन्तै सार्न हुन्थ्यो ।

उघारेर नहेर्नु है, म चढेको डोली

अरू सबै खुसी होलान्, मेरो मनमा खोली ।

के हुने हो सिन्दूर हाल्दा, पराइको हातले

कसरी पो डोर्याउला खै, विरानो त्यो साथले ।

मनभरि वेदना छ, आज कसले सुन्थ्यो ?

हुने भए यो मनलाई, अन्तै सार्न हुन्थ्यो ।

रूँदारूँदै बित्यो आज, के हुने हो भोलि

मेरो आफ्नै भाग्यमाथि, कसले खेल्यो होली ?

अन्योलमै पार्यो मलाई, आजको यो रातले

उडाउने पो हो कि कतै, पीपलकै पातले ।

कसैले त सोधे हुन्थ्यो मेरो मनमा कुन्थ्यो ?

हुने भए यो मनलाई अन्तै सार्न हुन्थ्यो ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।