तिमी भन्थ्यौ जिन्दगीमा, हाम्रो साथ नछुटोस् है
यात्राभरि जोडिएका, हाम्रा हात नछुटोस् है ।
पानीभित्र बसी आफै, न्यानो खोज्न सक्दिनँ म
दुःखै प्यारो लाग्छ मलाई, सुख रोज्न सक्दिनँ म ।
किन चाहियो घाम नै आज, मात्र जून पाए पुग्छ
यस्तो लाग्छ आजभोलि, एक्लै रुन पाए पुग्छ ।
भन्दिनँ म सम्झनाको, कुनै रात नछुटोस् है
यात्राभरि जोडिएका, हाम्रा हात नछुटोस् है ।
सधैँभरि जिन्दगीमा, सँगै हुन सकिँदैन
सबैसँग आफ्नो मन, खोली रुन सकिँदैन ।
सँगै हिँडौँ त्यहीँसम्म, जहाँसम्म सँगै हुन्छौँ
साथै हुँदा न त हाँसौँ, विछोडमा न त रून्छौँ ।
तर पनि किन भन्यौ, हाम्रो साथ नछुटोस् है
यात्राभरि जोडिएका, हाम्रा हात नछुटोस् है ।