18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

आधुनिक कविताहरुको सिङ्गो प्रतिनिधित्व

कृति/समीक्षा छविरमण सिलवाल October 24, 2009, 11:45 pm
छविरमण सिलवाल
छविरमण सिलवाल

नेपाली साहित्यमा युवापुस्ताको अग्रिम पंक्तिमा उभिएकी मोमिलाका सृजनाहरु अत्यन्त सशक्त रुपमा रहेकाछन् । ‘पैयु फुल्न थालेपछि’ कवितासंग्रह २०५२ सालमा पहिलो प्रकाशित कृति हो उनको । कविता लेखनमा अत्यन्त लोकप्रिय रहेकी मोमिलाका कलम कविता, निवन्धसंगै साहित्यका विविध विधाहरुमा चलेको पाइन्छ । प्रज्ञा पदक, युवावर्ष मोती पुरस्कार लगायत थुप्रै पुरस्कारहरु प्राप्त गरेकी मोमिला एउटा कुशल सम्पादकको रुपमा पनि रहेकी छिन् । पछिल्लो अवधिमा प्रकाशित भएको पुस्तक ‘सगरमाथाको नृत्यमग्न आत्मा’ यसको उदाहरण हो । एकसय पैतिस जना कविहरुलाई एकै थलोमा उभ्याउन सफल भएकी छिन मोमिला । यस संग्रहहरुमा धेरैथरि पुस्ताका कविहरुलाई भेट्न सकिन्छ । गोपालप्रसाद रिमाललाई आरम्भ बनाई २०२५ भित्र जन्मिएका तथा ३० को दशकसम्म कविता लेखन आरम्भ गरि ४०को दशकसम्म स्थापित भइसकेका एवं अपवादलाई छोडेर कम्तीमा एउटा कविताकृति प्रकाशन भइसकेका स्रष्टाहरुलाई यससंग्रहमा समेट्ने आधार विन्दु बनाएको कुरा स्वयं मोमिला यस संग्रहमा लेख्छिन् । कडा परिश्रमबाट तयार भएको झल्को स्पष्ट रुपमा देख्न सकिन्छ उक्त पुस्तक अध्ययन गर्दा । यी सवै कविहरुका प्रतिनिधि कविताहरुले आधुनिक कविताहरुको सिङ्गो प्रतिनिधित्व गर्न सफल भएको यस पुस्तक ।

कविताप्रतिको दृष्ट्रिकोण, लेखनप्रारम्भ, जन्म, साहित्यिक नाम, प्रथम प्रकाशन, प्रकाशित कृतिहरुको विवरण, पुरस्कार सम्मान सहित कविहरुको जीवनप्रतिको हेर्नै नजरलाई पनि मोमिलाले यससंग्रहमा समेटेकी छिन् । यसका साथै हरेक स्रष्टाका बारेमा सम्पादकको कलम शिर्षकमा मिठो भाषामा आफ्नो काव्यदृष्ट्रि पनि पोखेकी छिन् । नेपालमा मात्र सिमित नभएर नेपाली भाषाको श्रीबृद्धिमा रमाएका प्रवासी साहित्यकारहरु पनि यस संग्रहमा अटाएका छन् । यस पुस्तक मार्फत मोमिलाको आफ्नो शिप, कला, कुशलताको क्षमता स्पष्ट रुपमा देखाएकी छिन् । लेखनशैली र लेखनको सारमा अत्यन्तै आकर्षण वाणी प्रस्तुत गरेको पाइन्छ । महिला सर्जकहरुको संख्यामा निकै कमि रहेपनि यससंग्रहले आधुनिक कविताहरुलाई संयोजन गर्न सकेकोमा सम्पादक निकै सफल रहेकीछिन् ।

डा.लक्ष्मणप्रसाद गौतम यस पुस्तकमा लेखेका कुराहरुलाई सापटी लिएर हेरौं:–‘आधुनिक नेपाली कविताको यस सङ्कलनमा नेपालका स्थापित कविहरुका साथै भारतीय नेपाली कविहरुका प्रतिनिधिमूलक कवितासमेत समावेश गरिएकोले यो सङ्कलन आधुनिक नेपाली कविताकै प्रतिनिधि र आधिकारिक सङ्कलन भएको छ । यस सङ्ग्रहको सबैभन्दा ठूलो शक्ति–सामथ्र्य भनेको नै यस कृतिलाई कवितासङ्ग्रहका रुपमा मात्र प्रस्तुत नगरी कवितालेखनको प्रारम्भ, कविताको प्रथम प्रकाशन, राष्ट्रिय स्तरमा प्रकाशनलगायत कविको काव्यिक इतिवृत्त, कविको कविताप्रतिको दृष्टिकोण, कविको आफूप्रतिको दृष्टिकोण, प्रत्यक कवि एवंम कविताप्रतिको सम्पादनको दृष्टिकोण आदिका साथ अत्यन्त ब्यवस्थित रुपमा प्रस्तुत हुनु हो । कविताहरुको सङ्कलन गरेर पुस्तक प्रकाशित गर्नूमा सम्पादकको कला, कुशलता र क्षमता त्यति देखिँदैन । त्यसलाई साङ्गोपाङ्ग, सर्वाङ्गपूर्ण व्यवस्थित र आकर्षण बनाउनुमा मात्र सम्पादकको कला, कुशलता र क्षमता देखिन्छ । यस दृष्टिले प्रस्तुत कृतिको सम्पादन कला अब्बल छ । यस सङ्ग्रहमा समावेश भएका शताधिक कविहरु र तिनका कविताहरुको चयनले यी कविहरु आधुनिक नेपाली कविताका मानक हस्ताक्षर हुन् भन्ने स्पष्ट पार्छ ।’

‘स्रष्टा र सृष्टि’ उपनाम दिएको नेपाल एकेडेमीको परियोजना अन्तर्गत प्रस्तुत कृति नेपाली कलासाहित्य डट कम प्रतिष्ठानको योजनाअनुरुप नेपाली साहित्यलाई विश्वसाहित्यमा पु¥याउने प्रारम्भिक पृष्ठभूमि हो । यी कुराहरुलाई मोमिलाले यस संग्रहमा स्पष्ट पारेकी छिन् । यसबाट के स्पष्ट हुन्छ भने नेपाली साहित्यमा यो पुस्तक शुरुवात मात्र हो । एकसय पैतिस जना कविहरु जस्तै यहाँ थुप्रै नामहरु छुटेको जस्तो लाग्छ । आगामी दिनहरुमा अवश्य पूरा हुने नै छ । नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले प्रकाशनमा ल्याएको ५४२ पृष्ठको यस पुस्तकको मुल्य रु.१२०० रहेको छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।