18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सहयोग

लघुकथा हरिहर दाहाल September 13, 2009, 8:21 pm

टेलिफोनमा उसले रुन्चे स्वरमा मलाई आश्रयको लागि अनुरोध गर्‍यो।मैले सम्झाउने कोशिस गर्दै भनें- "साना-तिना झगडा र मनमुटाबका कारण घर छोड्नु हुदैन। बिबाद, भनाभन, छेडछाड भनेका मायालाई अँझ दर्‍हो बनाउने संयन्त्र हुन्। गहिरो सम्बन्ध, माया र आत्मीयता भएका मान्छेसँग मात्र बढी दु:खमनाउ हुन्छ, मन कुँडिन्छ र झगडा गरिन्छ। त्यस्ता प्रकृतिका उतार- चढाबले संबन्धलाई अझ परिमार्जित गर्ने काम गर्छ। सतही रुपमा सम्बन्ध भएका मान्छेसँग कहिल्यै पनि बिबाद हुदैन। औपचारिकता मात्र पुरा गरिन्छ, मन दुखे पनि भित्र भित्रै दबाईन्छ।"

"यो माँया गाडिंदै गएको संकेत हो त्यसैले मिलेर बस्ने कोशिस गर्नुस् ।"

उसले कड्किएको स्वरमा गर्जिदै भन्यो- "सहयोग गर्न सक्दिन भनेर सिदै भन्नुस् न, किन नाना थरीका भाषण दिनु हुन्छ।"

सहयोग माग्नेले थर्काएपछि मलाई पनि रिसको पारो छुट्ट्यो र कड्किदै भनी दिएँ- "घर भित्रका समस्यालाई मिलाउन नसक्ने घामटलाई मबाट सहयोग हुन सक्दैन।"

उसले अनायसै फोन राखिदियो।

दुई चार दिन संपर्क भएन।

खै किन हो कुन्नि मैले उसलाई सम्झिरहें। र टेलिफोन गर्ने निधोमा पुग्दै टेलिफोनको डाटा पल्टाएँ र फोन गरेँ। एउटी केटी मान्छेले फोन उठाईन र भनिन "तैं घामट हैनस् मेरो श्रीमानलाई दु:खको बेलामा सहयोग नगर्ने? अब हामी मिलिसकेपछि के को चेपारो घस्छस्?"

मसँग उत्तर थिएन, चुपचाप फोन राखिदिएँ।

क्यालिफोर्निया

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।