18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

साहित्यकार नरेन्द्रराज प्रसाईसँग गफगाफ

वार्ता कृष्ण बजगाईं September 7, 2009, 7:59 pm
कृष्ण बजगाईं
कृष्ण बजगाईं

बिक्रम संवत् २०१२ साल वैशाख १ गते (सन् १९५५ अप्रिल १४) हाङ्पाङ, ताप्लेजुङमा जन्मनु भएका नरेन्द्रराज प्रसाई नेपाली साहित्यमा सुपरिचित नाम हो। गीत, निबन्ध र जीवनी लगायतका विधामा कलम चलाउने प्रसाईका थुप्रै पुस्तक प्रकाशित छन्। "मलाई नेपाली साहित्यमा एडिक्शन भइसक्यो" भन्ने प्रसाईं नइ प्रकाशन मार्फत बिभिन्न प्रकाशन कार्यमा संलग्न र धेरै संस्थामा आबद्व हुनुहुन्छ । स्वदेशका १४ अन्चल र ६८ जिल्ला अनि विदेशका भारत, बङ्गलादेश, हङकङ्, थाइल्याण्डको भ्रमण गर्नु भएका प्रसाईंले समकालीन साहित्य डट कमको लागि सम्पादक कृष्ण बजगाईंसँग इमेलबाट भएको कुराकानी ।

१. तपाईं अहिले कुन कृति पढ्दै हुनुहुन्छ ?

अहिले म महाकवि देवकोटामय भएको छु । उनका प्रायः सबै कितावले मेरो पढ्ने कोठा सिङ्गारिएको छ । यो रीतले जरा गाडेको पनि अब १२ वर्ष भएछ ।

२. यसबेला के लेखिरहनु भएको छ ?

मैले 'महाकवि देवकोटाको जीवनशैली' लेखिसकें । त्यसको भूमिका प्रा. राजेन्द्र सुवेदीले लेखिदिनु भएको छ । त्यस ग्रन्थलाई पं.श्यामदास वैष्णवले 'देवकोटा रहस्यम' भनिदिनु भएको छ । त्यस कृतिलाई मेरी प्रिय बहिनी नमिता सिंहले अङ्ग्रेजीभाषामा पनि अनुवाद गर्दैछिन्, त्यसको भूमिकाचाहिं जगदीशशमशेरले लेखिदिनु होला । प्रा. सुवेदीले यस ग्रन्थलाई उपन्यास विर्स्याउने कृति भन्नु भएको छ । किताव अलिक मोटो भएकाले मलाई केही खल्लो लागेको छ । पाठकलाई मर्का नपरोस् भन्ने मलाई लाग्दालाग्दै पनि यो ग्रन्थ ३५० पृष्ठभन्दा ठूलो भयो ।

३. तपाईं साहित्यका विभिन्न विधामा समानरुपमा कलम चलाउनु हुन्छ । आफूलाईं मन पर्ने विधा कुन हो ?

मलाई मन पर्ने विधा गीत, निबन्ध र जीवनी हो । सात वर्षभयो मैले गीतचाहिँ लेखेको छैन । मेरी छोरी निकेतिका पनि गीत गाउँथी, ऊ बेलायत गएपछि मेरो गीत लेखनको पनि सातो गएको छ । ऊ आएपछि यसबारे मेरो मन पनि खुल्छ कि हेरौँ ।

४. त्यो विधा मनपराउनु पर्ने कारण ?

म निबन्धमा मेरो मनको पूर्ण भाव प्रस्तुत गर्न सक्छु । कसैको अथवा आफूलाई मन परेको मान्छेको जीवनकथा जीवनीमा दिन सक्छु । मेरो गीत लेखनमा भित्रभित्रै मेरो आफ्नै जीवन बोलेको म थाहा पाउँछु । मेरो टुटेको, फूटेको, भत्केको र हराएको सबै थोक म मेरै गीतमा भनिदिन्थेँ । मैले लेख्ने गीत भनेको अर्को मेरो जीवनको प्रतिबिम्ब अर्थात् सहोदरी नरेन्द्रराज प्रसाई हो ।

५. अहिले नेपाली साहित्यको लेखनधार कता गैरहेको पाउनु भएको छ ?

आजको नेपाली साहित्यले राजनीतिको कम्मरमुनिबाट बग्ने लेदो पिइरहेको छ । साहित्य भनेको साहित्य झैं पवित्र हुनुपर्छ भनेर साहित्य लेख्ने मान्छे यहाँ अति थोरै छन् । यहाँ त साहित्यकारले मरिसक्न पाएका हुँदैनन् उनीहरूका लासले राजनीतिक झण्डा ओडिदिन्छन् । उदाहरणका लागि भवानी घिमिरेको निधनमा झलनाथ खनालले नेकपा एमालेको झण्डा लगेर घिमिरेको लास ढाकिदिए । त्यो प्रसङ्गले मेरा आँखाबाट आँसु चिप्ले । भवानी दाइको निधनले भन्दा झण्डा ओडाएको प्रसङ्गले त्यस घडी मलाई मर्माहात बनाइ दियो । सम्पूर्ण विश्वको नेपाली साहित्यकारलाई मरिसके पछि पनि नेपालका पार्टीले नङ्ग्रा गाड्न छाडेको छैन । अनि मैले त्यहीँ उभिएका अर्का नेकपाका नेता सीपी मैनालीलाई प्रश्न गरें ''यो खेल मलाई घिन लाग्यो ।'' मेरा सम्वादको प्रत्यूत्तरमा त्यहाँ मैनाली बोलेका थिए ''साहित्यकारहरू नै पार्टीमा मेरो नाउँ लेखियोस् भनेर धाउँछन ।'

६. अवका दिनमा कस्तो खालको साहित्य लेखिनु पर्ला ?

राजा महेन्द्र, वीपी कोइराला र राजेश्वर देवकोटाको झैं राजनीतिबाट अलग्गै बसेर पनि साहित्य लेखिनु पर्छ । राजनीतिको गाडा रङ नहाली व्यङ्य पनि त लेखिन सकिन्छ नि !

७. तपाईंको विचारमा साहित्य र राजनीतिको बीचमा कस्तो सम्बन्ध हुनुपर्दछ ?

विचारको राजनीतिले साहित्य रङ्गिनु हुँदेन । साहित्यलाई राजनीतिले पूजा गर्नु पर्छ । गणतन्त्रपछि नेपाल प्रज्ञाप्रतिष्ठनको कुलपति जसलाई बनाइएको थियो त्यस ठाउँमा अर्थात् कुलपतिमा सत्यमोहन जोशी वा मदनमणि दीक्षितलाई राखिएको भए नेकपा माओवादीको कार्यदक्षताको उचाई पनि कति माथिको देखिन्थ्यो ? नेपाली साहित्यका सारा स्रष्टाले काङ्ग्रेस र एमालेले गरेको विगतको साँस्कृतिक अन्यायको हिसाब समाउन पनि पाउँथे । तर त्यो मनोनयनले सारै कमजोरका लागि पनि कुलपतिको हकदारको दैलो खोली दिएको छ । कृष्णचन्द्रसिहँ प्रधानदेखि गोविन्द भट्टसम्मद्वारा नेपाली साहित्यमा सम्पन्न विराट योगदानको दौराको फेर मात्रै समाउँदा पनि साहित्यको बैतर्नी तर्ने बेला भै नसकेका स्रष्टाहरू प्राज्ञको हैसियतदार भए पछि नेपाली साहित्यको हालत कहाँ पुग्यो त ? नेपाली साहित्यमा योभन्दा ठूलो ठट्यौली अब के होला र ? नेपालमा राजनीतिले नै साहित्यको घोडा चडेको छ भनेको एउटा बलियो उदाहरण यही पनि एउटा हो ।

८. तपाईंका अहिलेसम्म के कति र कुन कुन विधाका पुस्तक प्रकाशित भएका छन् ?

मेरा किताप, पत्रिका र गीति क्यासेटसीडीको सूची यस्तो छ :

जीवनी

१. अठतीसअनौठा अनुहारहरू (२०४१)

२. केही चर्चित अनुहारहरू (२०४२)

३. समाजका केही चिन्तक (२०४७)

४. नेपालीभाषाका प्रमुख समालोचक (२०५४)

५. पारिजातको जीवनकथा (२०५७)

६. नेपाली सङ्गीतका शिखर (२०५९)

७. बाङ्देलको जीवनयात्रा (२०५९)

८. The life story of Parijat (2003 AD)

९. A biography of Bangdel (2003 AD)

१०. आदिगायक सेतुराम (२०६०)

११. दौलतविक्रम विष्टको परिक्रमा (२०६०)

१२. कोइलीदेवीको जिन्दगानी (२०६१)

१३. नारीचुली (२०६३)

१४. प्रथम नारीस्रष्टा : ललितत्रिपुरसुन्दरी (२०६४)

निबन्ध

१५. मेरो प्यारो कञ्चनजङ्घा (२०४८)

१६. मेरो मोतीपुरस्कार (२०४९)

१७. जनप्रियताको नाप (२०५३)

१८. अक्षरको प्रदशर्नी (२०५५)

१९. नमस्कार (२०५८)

२०. ठाँगे उक्लेपछि (२०६०)

२१. रेलको रमाइलो (२०६१)

२२. सहोदरी ठुङ (२०६२)

२३. प्रिय इन्दिरा (२०६२)

प्रबन्ध

२४. दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (२०४३)

२५. शान्तिक्षेत्र : प्रस्ताव र र्समर्थन (२०४४)

२६. श्री ५ ज्ञानेन्द्र र आजको नेपाल (२०५८)

२७. राजसंस्था र नेपाली जनता (२०५९)

गीत

२८. मेरो मनको देउराली (२०४६)

२९. पुग्नुपर्ने टाढा थियो (२०५४)

अन्तरवार्ता

३०. सामाजिक सेवा अन्तद्रिर्ष्टि (२०४४)

३१. एउटा महारथीको जबाफ (२०५७)

लेखन तथा सम्पादन

३२. सामाजिक सेवाको नालीबेली (२०४५)

३३. नेपालीसाहित्यका समालोचक र समालोचना (२०५७)

सम्पादन

३४. चाँदनी शाह : आफ्नै आकाश, आफ्नै परिवेश (२०४३)

३५. चाँदनी शाहका रचना (२०४३)

३६. ज्ञानज्योति (२०४९)

३७. अरुणा लामा : कथा र व्यथा (२०५०)

३८. भारती खरेल : सृजना र समीक्षा (२०५२)

३९. पौरखी पुरुष (२०५२)

४०. एउटा अमर प्राज्ञ : बालकृष्ण सम (२०५४)

४१. रुद्रराज पाण्डे : सृष्टि र दृष्टि (२०५४)

४२. गणेश गुरु : साधनादेखि समाधिसम्म (२०५४)

४३. भूपाल अर्चना (२०५५)

४४. उकाली ओरालीहरूमा तारादेवी (२०५६)

४५ ईश्वर बराल : कृति र कीर्ति (२०५७)

४६. श्री ५ वीरेन्द्रको बहुआयामिक व्यक्तित्व (२०५७)

४७. सङ्गीतशिरोभूषण : नातिकाजी (२०५८)

४८. ईश्वरवल्लभ : आयाम र आकृति (२०५९)

४९. कमल दीक्षित : कालो अक्षरदेखि सग्लो अक्षरसम्म (२०६०)

५०. मिश्रका कृति : कविका दृष्टि (२०६०)

५१. शरदचन्द्र भट्टराईको इतिवृत्त (२०६२)

५२. The Summit of Women Writers (2007AD)

पत्रिका सम्पादन

कुटुम्ब साप्ताहिक (२०३९-२०४३)

उपकार त्रैमासिक (३०४३-२०४७)

प्रज्ञापत्र मासिक (२०५३-२०५५)

भानुमोती वाषिर्क (२०५६-२०६३)

गीतिसीडी

यो मनले रोजेको छ (२०५०)

जुनी (२०५८)

गीतिक्यासेट

मिर्मिरेमा तिमीलाई (२०४७)

हाँसीहाँसी जलिरहें (२०५५)

कस्तोगरी माया बस्यो (२०५६)

शिखा (२०५७)

९. तपाईं आफैले वा तपाईंका कुनै कृतिले सम्मान वा पुरस्कार प्राप्त गरेको छ कि ?

मैले प्राप्त गरेका पुरस्कार :

जेसिस साहित्य स्वर्णपदक (२०४४)

युवावर्षमोती पुरस्कार (२०४८)

राष्ट्रिय गौरव युवासम्मान (२०५३)

प्रतिभा सम्मान (२०५७)

भानुभक्त चलचित्र सम्मान (२०५९)

उत्तमशान्ति पुरस्कार (२०६१)

भद्रकुमारी घले सम्मान (२०६४)

मैले प्राप्त गरेका विभूषण :

गद्दीआरोहणको रजत महोत्सव पदक (२०५३)

प्रबल गोरखादक्षिणबाहु (२०५७)

वीरेन्द्रऐर्श्वर्य सेवापदक (२०५८)

१०. तपाईं लेखनका अतिरिक्त विभिन्न साहित्यिक संघसंस्थामा जिम्मेवार पदमा रहेर कार्य गरिरहनु भएको छ । समयको ब्यवस्थापन कसरी गरिरहनु भएको छ ?

काम गर्न त्यति सजिलो त कहाँ हुन्छ र - तर रुचि भएपछि काममा लागि रहिन्छ । मलाई त अब नेपाली भाषासाहित्यमा एडिक्शन नै भइसक्यो जस्तो लागेको छ । जाँड, रक्सी, चुरोट, खैनी सबै नै मेरो साहित्य हो । केबल म पानी र दुध बराबरी भएको दैनिक आधा लिटर गुलियो चियाचाहिं खान्छु । त्यसपछि दिनको अठार घन्टासम्म पनि म यसैमा जोतिएको म थाहा पाउँदिन ।

११. तपाईं संलग्न संस्थाले के कस्ता कार्य गरिरहेको छ ?

खास गरेर नेपाली भाषासाहित्यबारेका काम गरिरहेका छन् ।

१२. संस्थाका भावी योजनाहरु के के छन् ?

विशेष गरेर नेपाली भाषासाहित्यबारेका कामहरू नै प्रसस्तै छन् ।

१३. प्रसंग बदलौं, नेपाली भाषा साहित्यअहिलेको संक्रमणकालीन अवस्थामा कस्तो रहेको छ ?

आजको साहित्यलाई राजनीतिले निल्न खोज्दैछ । पास हुनेले फेल हुनेलाई पनि आफ्नो खुशियाली भोजमा सामेल गराएर भोज खुवाएको र खानेले पनि कहिले खान नपाएको जस्तै गरि खाना खाएको जस्तै आजको नेपाली भाषासाहित्यको स्थिति छ ।

१४. अर्न्तराष्ट्रिय स्तरमा नेपाली नेपाली साहित्य कहाँनिर कुन अवस्थामा देखिन्छ ?

२०१३ सालमा महाकवि देवकोटाले र्सवप्रथम अङ्ग्रेजीभाषाका माध्यायमबाट नेपाली साहित्यलाई लगेका थिए । त्यसपछि पनि यसबारे क्रमशः विकास त भएको छ । तर लुछाचुँडीका कारण राम्रो लेखकले भनेजस्तो ठाउँ पाउन सकिरहेको पनि देखिंदैन ।

१५. नेपाली साहित्यलाई अर्न्तराष्ट्रिय स्तरमा पुर्याउन के के गर्नु पर्ला ?

नेपाली साहित्यका कृतिलाई विभिन्न भाषामा अनुवाद गर्नुपर्छ ।

१६. यो कार्यको थालनी कसले कसरी गर्नु पर्ला ?

सबैजना मिलेर जानु पर्ने हो । तर त्यस्तो स्थितिको सूत्रपात हुन नै गाह्रो छ । चैतन्य, नरहरि आचार्य, मोदनाथ प्रश्रित, जगदीशशमशेर राणा, नारायणमान बिजुक्छे रोहित, राजेश्वर देवकोटासमेत आदिलाई राखेर एउटा वाङमयिक संस्था बनाउँन सकिए नेपाली साहित्यलाई देशदेशान्तरमा सम्मानपूर्वक पुर्याउन सकिन्थ्यो कि !

१७. महाकवि लक्ष्मीप्रसाद देवकोटाको शतवार्षिकी समारोह समितिको सदस्यसचिव भएको नाताले सो समितिले गर्ने उल्लेखनिय कार्यहरु छोटकरीमा बताइदिनुहोस्न ।

महाकवि देवकोटा शताब्दी महोत्सवका मूख्य कार्यक्रम यस प्रकार छन :

१. नेपाल र भारतका १०० जना स्रष्टालाई देवकोटा शताव्दी सम्मान

२. नेपाल, भारत, रूस र बेलायतका नौ जना व्यक्तित्वहरूलाई

मरणोपरान्त देवकोटा शताब्दी महासम्मान

३‍. नेपालबाहिरबाट नेपालीभाषाको सेवा गर्ने १० स्रष्टालाई देवकोटा शताव्दी सम्मान

४. देवकोटा शताव्दी काव्य सम्मान (१० जनालाई)

५. देवकोटा शताब्दी चित्रकला सम्मान (११ जनालाई)

६. देवकोटा शताब्दी निबन्ध सम्मान (३ जनालाई)

७. देवकोटा शताब्दी विशेष सम्मान (१० जनालाई)

८. देवकोटा शताब्दी विद्यावारिधि सम्मान (१० जनालाई)

९. देवकोटा शताब्दी (तीनदिने) साहित्य सम्मेलन

१०. देवकोटा शताब्दी काव्य महोत्सव

११. देवकोटाको शताब्दी चित्रकला महोत्सव

१२. ९ जनाको सहभागिता साहित्यिक राजनेताको समालोचनात्मक गोष्ठी

१३. देवकोटा विषयक दसवटा कृति प्रकाशन

१४. देवकोटा शताब्दी नामक कविताकृति प्रकाशन

१५. नारीस्वरमा देवकोटाका कविता सीडी प्रकाशन

१६. देवकोटाको जीवनीको सीडी प्रकाशन

१७. देवकोटा शताब्दी काठमाडौं उपत्यका स्तरीय चित्रकला प्रतियोगिता

१८. देवकोटा शताब्दी काठमाडौं उपत्यका स्तरीय कविता प्रतियोगिता

१८. तपाईंले अहिलेसम्म के कति संस्थामा काम गर्नुभयो ?

मैले हालसम्म गरेका कामको छोटो परिचय यस्तो छ :

यी संस्थाका म संस्थापक तथा सदस्यसचिव हुँ

सीताराम प्रज्ञाप्रतिष्ठान (२०४९ देखि)

नइ प्रकाशन (२०५२ देखि)

बालकृष्ण सम फाउन्डेशन (२०५२ देखि)

भूपाल प्रज्ञापरिषद् (२०५२ देखि)

लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान (२०५३ देखि)

त्रिमूर्ति निकेतन (२०६१ देखि)

लेखनाथ पौडयाल काव्यसभा (२०६३ देखि)

महाकवि देवकोटा शताब्दी महोत्सव (२०६५-२०६६)

यी संस्थामा रहेर मैले काम गरेँ

उपत्यका अन्तर हाइस्कुल विद्यार्थी समितिको सचिव (२०२९-२०३०)

उपत्यका अन्तर हाइस्कुल विद्यार्थी समितिको सभापति (२०३०-२०३१)

राष्ट्रिय युवा क्लवको महासचिव (२०३२-२०३४)

नेपाल राष्ट्रिय विद्यार्थी सङ्गठनको केन्द्रिय अध्यक्ष (२०३६-२०३८)

पञ्च पुस्तकालयको अध्यक्ष (२०४२-२०४७)

सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद् अन्तर्गत

सूचना तथा प्रचार समितिको सदस्यसचिव (२०४३-२०४७)

रेडियो नेपाल सञ्चालक समितिको सदस्य (२०६०-२०६२)

१९. अन्तमा समकालीन साहित्य डट कम मार्फ नेपाली साहित्यका पाठकहरुलाई केही भन्नु छ कि ?

समकालीन साहित्य डट कमले नेपाली भाषासाहित्यका लागि गरेको योगदान स्तुत्य छ । यो विद्युतीय कृतिले हामी नेपालमा बसेर भाषा सेवागर्नेलाई बलियो हाँक पनि दिएको छ । नेपाली साहित्यको न्याय, निसाफ खोज्न गोरखा जानुभन्दा अब बेल्जियमतिर नै जानु पर्ला जस्तो छ । वास्तवमा यस विद्युतीय पत्रिकाले विश्व रङ्गमञ्चमा नेपाली भाषाको बलियो स्तम्भ स्थापित गरिसकेको पनि देखिन्छ । त्यसैले हामीले यसलाई पनि हाम्रो मुखपत्र भने हाम्रो इज्ज्वत अझ बड्ने नै छ ।

७ सेप्टेम्बर ०९

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।