उनको एक हातको पाँचवटा औंला संयुक्तरुपमा सक्रिय थिए । तिनैले मागेर ल्याउँथे र सम्पूर्ण शरिरलाई मात्र होईन उनीसंग आश्रित परिवारलाई पनि भरणपोषण गर्दथ्यो ।
केही समयपछि उनका दुवै हातका दशवटै औंला संयुक्तरुपमा सक्रिय भए । दुई हात जोडेर दशैवटा औलाको सहयोगमा मागे । दयालु दाताहरुले उनलाई चुनावमा मत दिए ।
ख्याँउटे शरिरले थामि नसक्नु फूलमालाको भारी, रंग–अबिर र विजयको मुस्कान पायो । त्यो त्यहीं बिसाएर उनी राजधानी हानिए । दौरा, सुरुवाल, टोपी र टलक्क टल्केको जुत्ता लाएर सिंहदरवार भित्र छिरे ।
केही बर्षैमा उनले राजधानीमा घरघडेरी जोडेको कुरा चल्दा उनका दयालु दाताहरुले पत्याएकै थिएनन् । हेर्दा–हेर्दै टेलिभिजनको पर्दा तथा अखवारका पानामा उनको ख्याँउटे ज्यान हट्टाकट्टा खाईलाग्दो अनुहारमा परिणत भएको देखियो । आजकाल उनको हातको चोर औंलामात्र सक्रिय छ ।