18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

ब्रम्हनालबाट प्रत्यक्ष प्रसारण

हास्यव्यङ्ग्य डा. सुमन राज ताम्रकार August 13, 2009, 4:36 am

म अहिले ब्रम्हनालमा लम्पसार छु । मलाई कात्रो र राम राम लेखेको पिताम्बरले छोपिएको छ । म मरेको धेरै बेर भा'छैन किनकि म अझै तात्तातै छु । म मरेको खबरले मलाई अन्तिम पटक दर्शन गर्न एक पछि अर्को गर्दै ओइरिरहेका छन् । पालैपालो पानी ख्वाउने क्रम जारी छ अर्थात् हुँदैछ । हाम्रो त्यस्तो चलन छ क्या मरेको मान्छेले मुख खोल्दैन भन्ने थाहा हुँदाहुँदै पनि खाए खा नखाए घिचको स्टाइलले पानी ख्वाउने क्रम जारी छ । पानी ख्वाउन आउने थुप्रै थिए लाम त लामै रहेछ । लामै भन्या सिमकार्डको लाइन कोरिया जाने लाइन मन्त्री बन्नेहरुको लाइन जत्तिकै क्या मलाई पानी ख्वाउनहरु मध्ये सबैको त व्याख्या गर्न भ्याउँदिन केही नमूना भने प्रस्तुत गर्दछु ।

यस्तैमा मेरा साथी आए एकदम मिल्ने । साह्रै शोकमा थिए नहुन पनि कसरी सम्भवतः लँगोटिया यार भन्छ क्यार त्यसपछि एक नौंटकी आए रोएको नाटक गरेर भित्रभित्रै त खुब हाँसिरहेका होला मोरो । म सँग मोटै रकम सापटी लिएको कुरा उ र म बीच मात्र सीमित थियो । उसको सात पुस्तालाई नभएनि एक दुई पुस्तालाई भने अवश्य पुग्ने मात्राको थियो ।

त्यहि लाइनमा एक विकास बैंकका कर्मचारी पनि देखें मैले । त्यो बैंक कर्मचारी भक्कानो छोडेर रोइ कराई म तिर आइरहेका थिए । यल्लाई चाहिँ म मरेकोमा साह्रै चिन्ता लागेको देखिन्थ्यो । अझ म मरेकोमा भन्दा क्षतिपूर्ति स्वरुप दिनुपर्ने बीमा रकमको चिन्ताको रेखी चाहिँ उसको निधारमा प्रष्टै देखिन्थ्यो ।

डाक्टर साब पनि थिए त्यो लाइनमा । यसैले त हो नी मलाई गलत उपचार दिएर मिति नपुग्दै डाँडा कटाएको । भनिन्छ नि ुकच्चा वैद्यको मात्रा यमपुरीको यात्राु । त्यसपछि एकजना महाशय आए मलाई त पानी चढाई लालसलाम पारामा मुट्ठी कसेर हात उठाएर पो गए त । हाँस उठेर कस्तो मरेको मान्छे हाँस्नु पनि भएन

ओहो ऽऽ पुरुषको लाइनमा महिला शायद क्रमभङ्ग होला नत्र यस्तो अन्तिम समयमा पानी ख्वाउन कोही महिला आउनु हुँदैन हाम्रो चलनमा । ए ऽऽ यी त मेरो गोप्रे रहिछ अर्थात् गोप्य प्रेमिका । डाँको छाडेर रोएर गईन् । पानी ख्वाउने बहानामा मेरो लाशै सँग सहि अन्तिम पटक अँगालो पनि मारेर गईन् । अरु मलामीहरु त हेर्याहेर्यै ।

हलुवामा बालुवा भने झैं त्यस्ती सुन्दरी गोप्रे पछि यो यो मुर्दार पो आएछ । आखिरी समयमा अर्थात् मिति पुग्न पुग्न लाग्दा अस्पताल सम्म जानुपर्यो गाडी एकछिन चाहियो भनेर यो मुर्दारलाई फोन गर्दा आनाकानी गरेको कहिल्यै बिसर्िन्न ल । अहिले चाहिँ हेरन् पानी माथिको ओभानो बनेर सुँक्क सुँक्क गर्दै अँजुली भरि पानी बोकेर आइरहेको छ ।

यो त झन् नामीको व्यापारी । कात्रो र पिताम्बरमा पनि डेढी नाफा खाएर बेच्ने रहेछ अहिले हेर न ठिक्क पारेर टोपी सोपी नै फुकालेर आइरहेको छ । ुनक्कली जोगीले बढी खरानी घस्छु भने झैं । त्यो पछि आउने मान्छे रमाइलो छ शायद मक्खनचुस भन्छ क्यारे यस्तो मानिसलाई एक पटक उसले चिया खाँदै गर्दा उसको चियामा झिँगा खस्याथ्यो । अलिकति भएपनि चिया किन खेर फाल्ने भनेर चियामा खसेको झिँगा टपक्क टिपेर चुसेर फ्याँकी बाँकी चिया घटघटी पिएका थिए । अजब गजबका हुँदा रै छन् दुनियाँमा ।

यो साहुजी चाहिँ दङ्ग परे होला मलाई ब्रम्हनालमा लम्पसार देखेर र त्यो पनि यो हालतमा । उसलाई लाग्दो हो जहिले पनि मोलमोलाई गरी बार्गेनिङ्ग गरी वाक्क पार्ने एउटा ग्राहकको दिन पुगेको देखेर । त्यसपछि एक कप चियाको भरमा घण्टौं गफ छाट्ने गरेको चिया पसलका साहुजी पनि आएका रहेछ ।

एकजना सहकारीकर्मी पनि आएका रहेछ । बिचराको अनुहार कागती निचारेको झैं देखिन्थ्यो । शायद लगानी पानीमा डुब्यो भन्थान्यो आशयले भएपनि पानी ख्वाएर गए । तर त्यति विघ्न चाहिँ ऋण लिएको थिएन त्यो सँग ।

यस्तायस्तै नमूनाहरुको हरकट हेर्दाहेर्दै जोरीपारीको के हविगत होला भन्ने चिन्ता गर्दा गर्दै म त चिसिँदै पो गएँ त । अब पो आभाष भयो भात खान पुगेको सास फेर्न बिसे्रको ।

थाहा छैन मलाई स्वर्ग पठाउँछन् कि नर्क यमदूत तथा चित्रगुप्तले बरु दोबाटोमै राखिदिए त दुबैतिरको ग्राहक आउँथ्यो नि । यहाँ पनि गरि खान हुन्थ्यो नि । ब्रम्हनालमा लम्पसार परेर नै आपुूमा चेतना आए देखिको जीवनयात्रा रि गरेर प्ले गरें । आपुूले खाए भोगे गरेका राम्रा नराम्रा कार्यहरु सब सम्झें ।

'ए उठ् उठ् भन्या के निद्रामा बर्बराइरहेको भात खान पनि बिसर्िस् भात खान पुग्यो कि क्या हो ?' डेरामा सँगै बस्ने साथीले बिउँझाए पछि पो थाहा भयो सपना रै'छ धन्न बचिएछ । एफएम ट्युन गरेको त नारायण गोपालको गीत पो आइ रहेको रहेछ 'आजै र राती के देखें सपना मै मरि गएको'।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।