पहिले...
सोम शर्मा नाम गरेको एक ब्राम्हण थियो । दिनभरि मागेर ल्याएको पिठो-चामलले उसको गुजरा चल्दथ्यो । एक साँझ गाउँ घुमेर लखतरान भई ओच्छ्यानमा ढल्केको थियो । माथि झुण्ड्याएको पिठो-चामलको घैंटो हेर्दै कल्पिन थाल्यो ।
".....मागेर ल्याएको चामल-पिठो धेरै जम्मा गर्दछु । त्यसलाई बेचेर धेरै पैसा बनाउँछु । अनि राम्री स्वास्नी बिहे गर्दछु । सुरु देखि नै त्यसलाई कज्याएर राख्छु । भनेको मानिन भने यसरी लात्ताले भ्वाक्क् हान्छु ।" उसको लात्तीले पिठोको घैंटो फुट्यो । त्यो सबै भुईंमा पोखियो ।
अहिले...
सोम शर्मा नाम गरेको एउटा भुसतिघ्रे भर्खरै मिलिसियामा भर्ति भएको थियो । काँधमा बन्दुक भिरेर रातभरि गाउँ घुम्थ्यो । एक विहान थाकेर यसो के ओच्छ्यानमा पल्टेको थियो कल्पिन थाल्यो ।
"......गाउँघर घुमेर नगद तथा जिन्सी चन्दा माग्छु । नदिए बन्दुक तेर्स्याइ जवर्दस्ती लिएरै छाड्छु । अलिकति पैसा भएपछि चुनावमा उठ्छु । गाउँमा भोट माग्छु । नदिए बन्दुक तेर्स्याउँछु । भोट हाल्न लाईनमा बसेकालाई त्यहीं मत माग्छु । बन्दुक तेर्स्याएर बुथ क्याप्चर गर्दछु र चुनावमा विजयी हुन्छु । अनि मन्त्री बनेर पैसा कमाउँछु । मेरो कमाउ यात्रामा बाधा हाल्न आउने जो कोहीलाई ड्याम्म गोली हानेर उडाई दिन्छु ।" साँच्चै बन्दुक पड्क्यो । उसले आश्रय लिईरहेको एक गरिव किसानको घरमा आगो मात्रै लागेन ऊ सहित किसानका सम्पूर्ण परिवार जली मरे ।