'जुन जोगी आए पनि कानै चिरेका !' उखान त्यसै बनेको रहेनछ । नपत्याए हेर्नुस्; हिजो कुर्सीमा बसेकाले जे-जे गर्थे आजकाले रिट्ठो नबिराई त्यै-त्यै गरेका । मरिजाऊँ भनेको; हिजोकाले गरेका भन्दा चुनदाम फरक गरेको भए ।
कुसर्ीमा नपुगुन्जेल यिनले जनता उरालेनन् कि असम्भव-असम्भव आश्वासन बाँडेनन् । 'अब त भो बा ! हिजोका गल्ती ज्यान गए दोहोर्याउँदैनौं' भनेर बातैपिच्छे प्याचप्याची किरिया खाएनन् कि गल्तीका लागि माफी मागेनन् ।
'होला त नि । आफ्नै टाउकामा परेपछि चेतेकै होलान् । जेलनेल खा'कै हुन् । स्यालुट ठोक्नेका बुट पनि खाुकै हुन् । मतिमा खति भएर अति गरेको पुरस्कार भेटेकै हुन् । ुसयओटा मुसा खाइसकेको बिरालो साँच्चै हज गर्न हिँडेको होला' भनी सबैले पत्याए ।
पत्याउनु के थियो 'सुरक्षाकर्मीको लट्ठी खा' भन्दा खाइदिए । 'गोली खा' भन्दा खाइदिए । 'पानीको फोहोराले पुसमाघको जाडोमा नुहा' भन्दा नुहाइदिए । 'अश्रुग्याँस खा' भन्दा खाइदिए । दमनको परवाह गरेनन् । ज्यान माया मारेर एकपटक फेरि 'जिन्दावाद' र 'मुर्दावाद'को नारा घन्काए । कहिले नदेखिएको एकमत देखियो । मानवसागर उर्लियो । के गाउँ के सहर के बाटो के चौबाटो; चारैतिर जनसागर उर्लियो । स्वतन्त्रता र अधिकारप्राप्तिका लागि प्राणोत्सर्ग गर्न पछि नपरेको थामिनसक्नु असमेल भेल देखेर सबै चकित भए । राष्ट्र मात्र होइन अन्तर्राष्ट्रसमेत हेरेको हेर्यै भयो । एकमतले एकस्वरमा जनभावनाको कदर हुनुपर्छ भनिएपछि ढुङ्गा पग्लियो । जनआवाज नसुने पुच्छर लुकाएर कुद्नुपर्ने भएपछि जे-जे भन्यो त्यही-त्यहीमा सहीछाप गरे ।
एउटा नयाँ आसा पलायो सबैमा नयाँ बिहानीको नयाँ नेपालको । आसा गर्दागर्दा थाकेका आँखालाई विश्राम दिँदै बिहानको पारिलो घाममा ढाड सेकाई उन्नतिप्रगतिको समाचार सुन्ने तिनको चाहना क्रमशः रापिँदै गएको बिहानले पोल्न थाल्यो । हिजो जे-जे गर्दिनँ भनेर वाचाकबुल गरेका थिए आज त्यैत्यै गर्न थाले । ठूला कुरा मात्र गरे काम गरेनन् । कुर्सीमा पुगेपछि हिजोका जोगीको स्वभाव खर्लप्पै ग्रहण गरे । नयाँ हुँदा तिनले घसेका अत्यधिक खरानीका रङ झर्न थाले । अब तिनको स्वरुप काटीकुटी दुरुस्तै पहिलाको सँग मिल्न थाल्यो । अनि मात्र जनता झस्के । झस्केर के गर्नु तिनको चरित्रमा कुनै परिवर्तन आएको होइन । 'काग कराउँदै गर्छ पिना सुक्तै गर्छ' भन्ने गुरुमन्त्र अघिल्लाले सिकाएपछि रगत बगाएर ल्याएको लोकतन्त्र जनताका लागि 'कागलाई बेल पाक्यो हर्ष न बिस्मात' हुन थाल्यो । नपाउनेले केरा पाउँदा बोक्रैसित खाने चरित्रलाई तिनले दोहोर्याएको दोहोर्याएकै गरे । बढी खाँदा अजीर्ण भएको पनि बिसे्र ।
बल्लतल्ल पाएको कुर्सी जोगाउन ती चौबीसै घण्टा अँगालोमा बेरेर बोकी हिँड्छन् । कसैले छुन खोजे दुर्वासाको च्याप्जु भएर जाइलाग्छन् । तथानाम भन्न थालेपछि हिजो रगत बगाएर कुर्सीमा पुर्याएकालाई पनि प्रतिगामी भनी पुलिस लगाउन चुक्तैनन् । तिनका लागि जनान्दोलनमा घाइते भएका जिउँदा सहिद हुन् कि अपाङ्ग; अथवा वर्षौंवर्ष गाँसबासको व्यवस्था हुन नसकेका कमैया ! सबै प्रतिकि्रयावादी !
नयाँ र पुरानो जोगीमा फरक देखिएन । पुराना पनि जनोत्सवभन्दा जोगिकोत्सव गर्दा कुसर्ी अकन्टक देख्थे । राज्यकोषबाट तिनका लागि पानीसरह पैसा बगाउँथे । आजका झन् के कम । एक कदम अगाडि बढेर आशीर्वाद दिने जोगीको खोजीमा छिमेकी देशसम्म आफैं पुगे । उच्च पदस्थले राजसी स्वागतसत्कारसाथ इस्कर्टिङ गरी ल्याएको जोगीले स्वास्थ्यलाभ र कुर्सी अकन्टक रहने वरदान दिए । हिजो पनि दिएकै हुन् । आज पनि दिए । तिनलाई के फरक पर्छ । खल्तीबाट क्यै दिनुपर्ने होइन । बरु 'तथास्तु' भनेबापत हिजो जस्तै हरर झर्छ भने आफ्नो के जान्छ !
फरक यत्ति हो हिजो पुराना थिए । आज नयाँ । पुरानालाई जोगाउन नसकेको 'वरदान'ले नयाँलाई कति दिन जोगाउन सक्छ हेर्नु छ । नमरी बाँचे कालले साँचे त्यो पनि देख्न पाइएला । जुन थालमा खायो त्यही थालमा चुठेपछि के गर्नु जनताको दिन कसो नफर्केला ए गाँट्ठे ! सधैं जोगीकै उत्सव भइरहला त ?