सबैतिर झ्यापुल्ले कपाल पालेका साईबाबाको प्रभाव देखेर ईश्वरलाई साई-आश्रम जाने विचार आयो । साईबाबाको अद्भूत चमत्कारको कारण उनका लाखौँ भक्तजनहरु साईबाबाले हावामा हात हल्लाउँदा सुनको सिक्री विभूति औँठी लकेट रत्नहरु अचुक औषधीहरु आदि हातमा आएर भक्तजनहरुलाई बाँढेको देखेर ईश्वरलाई आश्चर्य लाग्यो । कहिल्यै नदेखेका मान्छेहरुलाई उनीहरुको समस्यालाई बिनासोधपुछ पहिचान गरेको देखेर ईश्वर छक्क परे ।
कुरोको चुरो पत्ता लगाउने अभिप्रायले ईश्वरले दिव्यदृष्टिले साईबाबालाई हेरे । साईबाबाले काखीदेखि नाडीसम्म विभिन्न वस्तुहरु सिक्री रत्न औँठी विभूति आदि बाँधेका रहेछन् र झड्काउँदा हातमा आउने प्रणाली व्यवस्था गरेका रहेछन् । बल्ल ईश्वरलाई साईबाबाले प्रचण्ड गर्मीमा पनि लाम्बाहुले कपडा लगाउनुको रहस्य थाहा भयो । त्यसपछि ईश्वरले भक्तजनहरुको पङ्क्तिमा दृष्टिगोचर गरे । उक्त पङ्क्तिमा एकजना आगन्तुक त्यसपछि साईबाबाका गुप्तचर त्यसपछि आगन्तुक त्यसपछि गुप्तचर ……। यस प्रकारको जमघट ईश्वरले दिव्यदृष्टिबाट थाहा पाए । एउटा आगन्तुकले प्रतीक्षाको लामो समय बिताउने क्रममा सूर्ती मोल्दै भन्यो "म नेपालको सुनको व्यापारी हुँ चिनीको रोगले सताएकोले बाबाको आर्शिवाद लिन आएको ।" उसको अगाडिको गुप्तचर "एक छिन् है" भन्दै आश्रमभित्र पस्यो । केही क्षणपछि साईबाबा भक्तजनको पङ्क्तिमा आएर भने "तपाईं नेपालको सुनको व्यापारी होइन ?" साईबाबाले चिनेको देख्दा व्यापारी हर्षले उत्तेजित भयो । "तपाईंलाई चिनीको रोग रहेछ ।"रोग पनि पत्ता लगाएको देखेर व्यापारी झन् अवाक् भयो । त्यसपछि साईबाबाले हात झड्काएर मधुमेहको औषधि दिए ।
"हे ईश्वर! हे परमात्मा! तपाईंको जय होस् यस्तो भीडमा पनि !आफूलाई चिनेकोमा ईश्वर मख्ख परेर व्यापारीलाई ढोगाउन खुट्टा उचाले । तर व्यापारी ईश्वरको होइन साईबाबाको पाउमा पर्यो । यस्तो अपमान सहन नसकेर ईश्वर हिसि्रक्क पर्दै त्यहाँबाट सुइँकुच्चा ठोके ।