18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सेलेब्रेटी पाटे

लघुकथा कुसुम ज्ञवाली July 10, 2009, 2:30 am

"अहा कति राम्रो, हगी" जसले देखेपनि हाम्रो पाटे कुकुरलाई यसै भन्छन् । कतिले किन्न पनि मागे, एकपल्ट चोरेर पनि लगे, भागेर पनि गएको हो, तर फेरि फर्केर आयो । कहिले ढोकैमा सुत्छ । कहिले पिडिमा बस्छ । कहिले आगनको डिलमा निदाउँछ । पाटे हेर्दा पनि खाईलाग्दो छ । कसैले असल जातको भोटे कुकुर पनि भन्छन् । बास्तबमा ऊ सामुदायिक कुकुर हो ।

दिएको खान्छ । खाना खान मालिकका पछि पछि दौडदैन । परिवारका सबैले खाएर 'कलो' दिँदा उसलाई मनग्गे पुग्छ भन्ने राम्ररी बुझ्छ, हतार गर्दैन । सडकमा कुकुर भुक्छन् ऊ मुन्टो उठाएर पनि हेर्दैन । तिर्खा लागे पानी चाट्छ, सुतिरहन्छ ।

पाटे कुकुरलाई सबले स्रहाना गर्छन् । असल कुकुरका नाममा उ प्रख्यात छ । ऊ टोलको नामी कुकुर हो । उसलाई सबैले चिन्न थालेका छन् । उ वल्लो पल्लो टोलका कुकुरकालागि उदाहरणीय छ, अर्थात टोलका कुकुर पनि पाटे जस्तै बन्न पाए मनमनै भन्दाहुन ।

एक दिन आफुलाई कुकुर बिशेषज्ञ बताउने एकझुण्ड अधबैशे कुहिरेहरु हाम्रो बस्तीमा देखा परे । टोलमा भब्य कार्यक्रम गरेर यस वर्षको "महान कुकुर" को उपाधी हाम्रै पाटे कुकुरलाई दिए । यस्तो शान्त सहिष्णु र अनाक्रमक बानीका कारण ऊ महान भएको भाषण पनि बजाए । कुकुर बिशेषज्ञ कुहिरेहरुले त्यसरी पाटेलाइ पुरस्कार दिदा हामीलाई गौरबै लाग्यो । पाटेले माला लायो । पुरस्कार स्वरुप प्राप्त हाड टोक्यो । मासु चबायो । पुरस्कार दिने मध्य एउटाले झुक्किए झै गरि जुँगा तानिदियो, पाटे भुकेन । अर्काले जानाजानी कान निमोढठ्यो, अँहँ पाटेले टोकेन । तेस्रोले रौ तान्यो, पाटेको काईकुइँ गर्ने बानी नै थिएन, गरेन । टन्न मासुभात खायो, माला लायो, सुत्यो ।

000

एउटा अर्को दिन सम्साँझै तिनै आफुलाई कुकुर बिशेषज्ञ बताउने अधबैशे कुहिरेहरु हतियार बोकेर गाँऊ पसे । बस्तीको सर्वस्व लुटेर लगे । हाम्रो पाटे चुपचाप अर्को पुरस्कारको प्रतिक्षामा सधै झै बसिरह्यो, यसपल्ट 'सेलेब्रिटी' पाटेको अनुसरण गर्दै अरु कुकुरहरु पनि चुपचाप लागे ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।