हिमबाबु नाम चलेका कथाकार हुन्। साहित्यकार भएकै कारणले होला उनी आफ्नो फुर्सदको समयलाई साहित्य सिर्जनामा उपयोग गर्छन्। जिल्लाको सदरमुकाममा उनी मात्र होइन, संघ–संस्थाहरु तथा श्री ५ को सरकारका अन्य निकायहरुका हाकिम साहेबहरु पनि छन्। यहाँका कार्यालयहरुमा कामको चाप न्यून छ र हाकिमसाहबहरु फुर्सदको समयमा पप्लु र मेरिज खेलेर, लोकल ठर्राको घुट्को निल्दै र कुखुराको साँप्रो लुछेर बिताउने गर्दछन्।
धेरै दिन बितिसक्दा पनि हाकिमहरुको जमघटमा हिमबाबुको अनुपस्थिति सबैलाई खट्किन लागेको छ। एकदिन तासको खालबाट नै मालपोत कार्यालयका हाकिमले हिमबाबुको कार्यालयको सुब्बालाई सोधे, 'ओ सुब्बासाहेब, तपाईका पटाखा पड्के झै हाँसोको खित्काहरु छुटे, 'साहित्य लेख्ने' हा ...... हा ....... हा .......।
सदरमुकामका हाकिमहरुको जमघटमा तिनीहरुको गफगाफ र हाँसोको मुख्य पात्र पनि हिमबाबु नै बन्ने गरेका छन्। 'कस्ता लोभी रहेछन् यी हाकिम त कैल्यै खाऔं, पिऔं, रमाइलो गरौं भन्दैनन् .....।यै खाऔं, पिऔं, रमाइलो गरौं भन्दैनन् .....।'
'कतिसम्म गैरजिम्मेवार भने अफिसको काम छोडेर कथा मात्र लेखिरहन्छन् ......।'
एकदिन अचानक हाकिमहरुको जमघटमा एउटा सनसनीपूर्ण खबर आइपुग्यो उक्त खबरले सबैको शरीरमा बिजुलीको करेन्ट प्रवाहित गराइदियो। खबरबाहक सुब्बासाहेबको भनाइअनुसार हिमबाबुलाई केन्द्रबाट स्पष्टीकरण मागिएको थियो र स्पष्टीकरणको सार यसप्रकार थियो, '......... तपाईजस्तो एक जिम्मेवार कार्यालयप्रमुखले अफिस समयमा अफिसको काम नगरी के कति कारणले कथा लेख्नु भएकोमा तपाईलाई हाम्रो विभागको ऐन–नियमअनुसार किन कारवाही नगर्ने यदि नगर्नु पर्ने कारण भए सोको चित्तबुझ्दो जवाफ र कार्यालयको समयमा लेखिएका कथाहरुसमेत संलग्न गरी २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न हुन सूचित गरिएको छ .....।'
हिमबाबु अवाक छन्, आश्चर्यचकित छन् र किंकर्तव्यविमूढ भए भएका छन्। अन्य हाकिमहरुको जमघट भने दिनप्रतिदिन झन्झन् बाक्लो गइरहेको छ।