जुत्ता मानिसहरुले जुत्ता कहिल्यै देखि लगायन थाले, कुनै पक्का तिथि मिति थाहा छैन। इन्टरनेट सर्च गर्या भए भेटिन्थ्यो होला, तर खोजिएन। तर परापूर्वकालमा खराउकै नाममा भएपनि जुत्ता लगाउने चलन चाहिँ पक्कै थियो। रामायणमा बनवास, राम अनि भरतको प्रसङ्गबाट थाहै पाउनु भयो होला। जुत्ता थरि थरिका हुन्छन् मेरो मतलब बन्ने सामाग्री र डिजाइन (जीनिस) को आधारमा। लेडिज जुत्ताको कुरै नगरौं। यसको एउटा अर्को महात्म्य नै बन्छ।
अँ मैले किन जुत्ताको प्रसङ्ग निकालेको भने अस्ति भर्खरै मात्र हाम्रा दक्षिणी ठूल्दाईका गृहमन्त्री माथि एकजना पत्रकारले जुत्ता बर्साइ दिए। पुलिस प्रशासन आफ्नै भएका गिरीह (निरीह) मनतरीले क्षमादान दिए रे उनलाई, अरु विकल्प पनि के नै थियो र? त्यसो त यो रोग विश्वका हल्दार अर्थात् अमि्रका देखि सर्दै दक्षिण एशिया तिर फैलिँदै आएको हो, एच आई भी एड्स रोग जस्तै।
कसरी भन्नुहोला, विश्वका हल्दार आफ्नो बिदाईको क्रममा ईराक जाँदा उनी माथि एकजना पत्रकारले जुत्ता हानेका थिए। यहीँ बाट जुत्ता हान्ने कार्य शुरु भएकोमा बेलायत हुँदै भारत सम्म आइपुग्यो। कुन दिन नेपालमा पनि कसको निधारमा, टाउकोमा अर्थात् पुर्पुरोमा जुत्ता, चप्पल बर्सिने हो थाहा छैन। आखिर गोर्खेको देश न पर्यो, त्यसमाथि नक्कल, देखासिकी गर्ने कार्यमा हामी नेपाली पनि कम छैनौं अब।
सुन्दैछु जुत्ता फुकालेर हिर्काउनेहरुमा पत्रकार बढी भएका कारण अब देखि सभा, सम्मेलन (विशेषतः पत्रकार सम्मेलन) मा पत्रकारलाई जुत्ता लगाउन बर्जित गर्ने नियम बनाउँदैछ रे। अर्थात् पत्रकार नाङ्गो खुट्टाले मात्र सभा, सम्मेलनमा भाग लिन पाउने छ।
महिला प्रति इङ्गित गर्दै जुत्ता सम्बन्धी कतिपय उखानहरु छन्। जस्तै खुट्टा भए जुत्ता कति कति? महिला भन्या त जुत्ताको धूलो बराबर आदि। देश गणमन्त्रमय भएपछि यस्ता उखानहरु माथि पनि समय सापेक्ष कैंची चलाउनु पर्ने हो, तर कुर्सी, भत्ता झगडाले नै कहिल्यै फुर्सद भएन हाम्रा सभासदहरुलाई।
जुत्ताको स्थान खुट्टामा हो, पाउमा हो, त्यसलाई हेयको दृष्टिले हेरिन्छ, व्यवहार गरिन्छ तर जुत्ता नभै हुँदैन। मान्छेको जात आफूलाई काँडा, सिसा, ढुङ्गा, मलमुत्र बाट बचाउने जुत्तालाई उल्टै हेप्छ। घरमा, कोठामा भित्र छिर्न दिँदैन, बाहिरै राख्छ चिसोमा, ठिहीमा।
नेपालमा जुत्ता बनाउने कम्पनी र जुत्ता सिउनेको कहानी जुत्ताको जस्तै जस्तै छ। उ बेलाँ बाँसबारीमा क्या नाम चलेको जुत्ता कारखाना थियो। तर त्यसै बिग्रेर गयो हाम्रा नेताहरु जस्तै। त्यो ठाउँमा अहिले मुटु कारखाना छ , भव्य चल्याछ, गुल्जार छ अहिले त्यहाँ।
फेरि अगाडिको प्रसङ्गमा आउँ, हे गन्यमान्य व्यक्तिहरु सभामा, सम्मेलनमा जाँदा अलि होश पुर्याउनु होला। मिडियाको धेरै खोइरो नखन्नुहोस्। खाली आश्वासन मात्र होइन काम पनि गरेर देखाृनुस्। हैन भने थरिथरिको भेट्टिन बेर छैन। त्यस्तै परे हेल्मेट लगाउनुस्। ईतिश्री