18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

उनी सूर्य लिन गएका छन्

कविता डा. हरिप्रसाद भण्डारी February 15, 2009, 10:10 am
डा. हरिप्रसाद भण्डारी
डा. हरिप्रसाद भण्डारी

१. मध्य रात्रिमा

चारैतिर चकमन्न अध्यारो थियो

कालो बादलले ढाकेको आकाशबाट

चिसो पीठो वर्षदै थियो

सिरेटोको निर्मम प्रहारले

हाम्रा छातीमा ठुङ्दै थियो

खाली धर्तीमा रित्तो आकाश ओडेर पनि

कैयौँ मान्छे सुतेकै थिए

टाडा कतै कराएको स्यालको आवाजले

वातावरणलाई उराठ उराठ बनाइरहेको थियो।

२. त्यसै वेला

उनी उठे

न्याना हातले बसेहै सानी भन्ने संकेत गर्दै

अध्यारो रातमा छाम–छाम र छुम–छुम गर्दै

सर्पको डसाइ र कुकुरको टोकाइबाट बच्दै

एउटा संघर्षशील यात्राका लागि

हिडेका थिए।

३. भन्थे―

विहानको मिर्मिरेसंगै

अन्धकारलाई हटाउन प्रकाश लिएर र

अन्यायका विरुद्धमा संघर्षको मसाल बोकेर

उदाउने छु पूर्व क्षितिजमा।

४. तर कुन्नि किन हो

उनी अझै आएका छैनन्

कतै बाटामा आउँदा कुकुरले झम्टे की

या कतै स्यालको जाल वा

चितुवाको फन्दामा परे की

काँडा र बुट्यानमा अलमलिनु पनि नपर्ने।

मलाई विश्वास छ―

उनी दृढ छन्

उनी शक्तिशाली छन्

त्यसैले,

स्याल र व्वाँसोले रोक्न सक्दै

न उनलाई,

कुकुर र चितुवाले देख्न सक्दैन उनलाई र

झाडी र बुट्नले अल्मल्याउन पनि सक्दैन उनलाई

त्यसैलै सारा बन्धनहरू ताड्दै

सारा अफ्ठ्याराहरू पार गर्दै र

पूर्व उजिल्याउँदै

उनी अवश्य आउने छन्।

५. म देखिरहेकी छु–

पूर्वमा लाली चढ्दै छ

उनी चक्माबाट आगो झक्दैछन् क्यार

आगाका फिलिङ्गा देखिन्छन् कताकती

त्यो त उनको प्रकृया हो,

त्यत्तिले पुग्दैन उनलाई

उनी झन् माथि पुग्नेछन्

अनि प्रमिथस बनेर आगो मात्र होइन

सिङ्गो सूर्य लिएर आउने छन्।

६. राता किरणका प्रहारमा

अन्धकार भाग्ने छ,

बादल फार्ने छ,

सिरेटो हराउने छ र

निलो आकाशमुनिको स्वच्छ धर्ती

मुसुक्क हाँस्ने छ– उनी हाँसे जस्तै

उनलाई कसैले रोक्न सक्दैन

उनलाई कसैले छेक्न सक्दैन

उनी अवश्य आउने छन्

किनकि उनी सूर्य लिन गएका छन्।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।